सप्तरी, १४ कार्तिक । सप्तरीको विष्णुपुर गाउँपालिकास्थित न्यायिक समिति कार्यालयको ताला तोडेर चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले आरोपितको घरबाट चोरी भएका केही सामग्रीसमेत बरामद गरेको जनाएको छ।
शुक्रबार राति कार्यालयको ढोकाको ताला तोडेर विभिन्न सामग्री चोरी भएपछि प्रहरीले घटनाको अनुसन्धान तथा खोजतलास तीव्र पारेको थियो।
कार्यालयका कर्मचारीका अनुसार चोरीमा ल्यापटप एक थान, डेस्कटप कम्प्युटर एक थान, ध्वनि प्रसारण उपकरण (ट्वीटर) एक थान, पंखा तीन थान तथा अन्य सामग्री चोरी भएका थिए।
घटनाको अनुसन्धानका क्रममा विष्णुपुर गाउँपालिका–७ का सुवि नारायण यादवका छोरा प्रमेश्वर यादवलाई आफ्नै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी वरिष्ठ नायब निरीक्षक रामनरेश कुसुवाहाको नेतृत्वमा खटिएको प्रहरी टोलीले आरोपितको घरबाट एसी एडजस्ट फ्यान, दुईवटा कुर्सी र हिटरलगायतका सामग्री बरामद गरेको जनाएको छ। घटनाको अनुसन्धानमा सम्बन्धित वडाका अध्यक्ष लोचन साहले समेत चासो देखाएका थिए।
चोरी भएका सबै सामग्री भने अझै फेला परेका छैनन्। बाँकी सामग्रीको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ नायब निरीक्षक कुसुवाहाले जानकारी दिए।

