समता खवर सम्बादाता ।
सप्तरी, २९ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय अन्दाजी ६५ वर्षीय गोपी चौधरी रहेका छन्।
स्थानीयवासीका अनुसार चौधरी आफ्नो हराएको बाख्रा खोज्न गाउँभन्दा पूर्व–उत्तर दिशामा जंगलको छेउमा रहेको गोठतर्फ गएका थिए। उनीसँगै अन्य ४/५ जनाको समूह पनि बाख्रा खोज्न गएको बताइएको छ।
प्रत्यक्षदर्शीका अनुसार जंगलको छेउमा पुगेका बेला जंगली हात्ती कराउन थालेपछि चौधरीले पनि हात्तीले जस्तै आवाज निकाल्दै जोडले कराएका थिए। त्यसपछि हात्तीले चौधरीलाई लखेटेर आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि मृतक चौधरीको शव घटनास्थलमै रहेको स्थानीयवासीले जानकारी दिएका छन्। घटना हुनासाथ स्थानीय प्रहरी घटनास्थल पुगेको छ।
इलाका प्रहरी कार्यालय भेडियाका अनुसार प्रहरी टोली घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ।
जंगली हात्तीको आक्रमणबाट स्थानीयको ज्यान गएपछि आसपासका बस्तीमा त्रास फैलिएको छ। जंगल आसपासका क्षेत्रमा हात्तीको आवागमन बढ्दै जाँदा स्थानीय बासिन्दाको सुरक्षामाथि चिन्ता थपिएको छ।
हराएको बाख्रा खोज्न गएका ६५ वर्षीय गोपी चौधरीको जंगली हात्तीको आक्रमणबाट मृत्यु

