समता खवर सम्बादाता ।
राजविराज, ८ मंसिर ।
आगामी स्थानीय तह निर्वाचनमा दलित तथा हरवा–चरवा समुदायको अर्थपूर्ण राजनीतिक प्रतिनिधित्व र पार्टी टिकट सुनिश्चित गर्न सप्तरीका राजनीतिक दलहरूको ध्यानाकर्षण गराइएको छ। द फ्रिडम फण्डको आर्थिक सहयोगमा सञ्चालित हरवा–चरवा सशक्तीकरण कार्यक्रमअन्तर्गत जन चेतना दलित संगम सप्तरी र मुक्त हरवा–चरवा अधिकार मञ्च सप्तरीले मंसिर ८ गते राजविराजस्थित विभिन्न दलका जिल्ला कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।
नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, जनमत पार्टी, लोसपा नेपाल लगायतका प्रमुख दलहरूलाई बुझाइएको पत्रमा संविधानप्रदत्त समानता र समावेशिताको मर्मअनुरूप प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ। विशेषगरी सप्तरीका १८ वटै स्थानीय तहमा जनसङ्ख्या र नेतृत्व क्षमताका आधारमा कम्तीमा २ वटा स्थानीय तहमा प्रमुख तथा उपप्रमुख र सबै तहका कम्तीमा २ देखि ३ वटा वडामा वडा अध्यक्ष पदका लागि योग्य व्यक्तिहरूलाई पार्टी टिकट उपलब्ध गराउन आग्रह गरिएको छ।
यसका साथै, दलहरूले आफ्नो निर्वाचन घोषणापत्रमा भूमि अधिकार, सुरक्षित आवास, रोजगारी, उचित ज्याला, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, जातीय विभेदको अन्त्य र मुक्त हरवा–चरवा परिवारको पुनःस्थापनाका सवाललाई प्राथमिकताका साथ समेट्नुपर्ने माग अघि सारिएको छ। जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले लामो समयदेखि विभेदमा परेको यस समुदायलाई अब मतदाताका रूपमा मात्र सीमित नराखी नीति निर्माण र नेतृत्व तहमा समान अवसर दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमकै क्रममा ध्यानाकर्षण पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय सप्तरीलाई समेत बुझाइएको छ। पत्र बुझ्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मागहरू जायज रहेको बताउँदै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मुक्त हरवा–चरवा अधिकार मञ्च सप्तरीका अध्यक्ष देवलाल रामको अगुवाइमा भएको कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष दर्शनलाल मण्डल, नगर संयोजकहरू जामुन राम र लक्ष्मण मण्डल, संगमकी कोषाध्यक्ष बेचनी सदा मुसहरनी, सचिव हरिप्रसाद मोची लगायत १० जनाको सहभागिता थियो। आयोजक संस्थाले बाँकी राजनीतिक दलहरूलाई समेत ध्यानाकर्षण पत्र बुझाउँदै टिकट सुनिश्चितताका लागि नियमित संवाद जारी राख्ने जनाएको छ।

