सिनो बहिष्कार आन्दोलनमा महिलाको योगदान र संघर्षको इतिहास अभिलेखीकरणमा जोड
समता खवर सम्बादाता ।
सप्तरी, ११ कार्तिक । नेपालका सामाजिक आन्दोलनमा योगदान पुर्याएका १३ महिला नेतृका जीवन, संघर्ष र योगदान समेटिएको अनुसन्धानमूलक पुस्तक ‘संघर्षले बुनेका साझा सपना’ को सामुदायिक विमोचन सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा सम्पन्न भएको छ।
भ्वाइसेज अफ वुमन मिडियाको आयोजनामा तथा जनचेतना दलित संगमको समन्वयमा आयोजित कार्यक्रममा सिनो बहिष्कार आन्दोलनका अगुवा तथा स्थानीय समुदायको सहभागितामा पुस्तक विमोचन गरिएको हो। कार्यक्रममा आन्दोलनका अगुवाहरूले आफ्ना अनुभव साझा गर्दै जातीय विभेदविरुद्धको संघर्ष, महिलाको नेतृत्व र आन्दोलनको इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याए।
पुस्तकमा समेटिएका विभिन्न सामाजिक आन्दोलनमध्ये सिनो बहिष्कार आन्दोलनलाई विशेष महत्त्वका साथ प्रस्तुत गरिएको छ। सार्वजनिक स्मृतिबाट ओझेल पर्दै गएको यस आन्दोलनमा सक्रिय महरी देवी राम, भोला देवी राम र चन्देश्वरी सदालगायतका अभियन्ताको अनुभवमार्फत जातीय विभेद र अपमानजनक सामाजिक प्रथाविरुद्ध महिलाहरूले गरेको संघर्ष, साहस र सामूहिक संगठनको इतिहास अभिलेख गरिएको छ।

त्यस्तै, बादी समुदायको अधिकार, भूमि र सम्मानका लागि संघर्ष गरेकी उमादेवी बादी तथा एसिड आक्रमणबाट बाँचेर न्याय र सामाजिक परिवर्तनका लागि निरन्तर संघर्ष गरिरहेकी मुस्कान खातुनलगायत १३ महिला नेतृका जीवन र योगदान पुस्तकमा समेटिएका छन्।
कार्यक्रममा सहभागी चाँदनी बेगमले आफ्नै ठाउँमा भएका ऐतिहासिक संघर्षबारे आफूलाई जानकारी नभएको बताइन्। “यस्ता कथाहरू हाम्रै ठाउँका भए पनि थाहा थिएन। बल्ल थाहा पाइयो। पुस्तकमा अन्य महिलाका संघर्षका कथा पनि पढ्न पाउँदा झनै खुसी लाग्यो,” उनले भनिन्।
त्यसैगरी, अञ्जली साहले सिनो बहिष्कार आन्दोलनको इतिहास निकै रोचक र महत्त्वपूर्ण रहेको बताउँदै लिखित अभिलेखीकरणसँगै यसको संरक्षण र प्रवर्द्धनका लागि थप काम गर्नुपर्नेमा जोड दिइन्। उनले यस अभियानमा सहयोगी हातहरू जोडेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन्।

कार्यक्रमका सहभागीहरूले समुदायले नेतृत्व गरेका सामाजिक आन्दोलनको इतिहास संरक्षण गर्न, महिला अभियन्ताको योगदानलाई सार्वजनिक पहिचान दिलाउन र नयाँ पुस्तालाई विगतका संघर्षबारे जानकारी गराउन यस्ता पहल आवश्यक रहेको बताए।
पुस्तकको सामुदायिक विमोचनले सिनो बहिष्कार आन्दोलनको इतिहासमाथि थप संवादको अवसर सिर्जना गर्नुका साथै जातीय विभेदविरुद्धको संघर्षमा महिलाहरूले खेलेको भूमिकालाई अभिलेखीकरण र संरक्षण गर्ने प्रयासलाई बल पुर्याएको आयोजकले जनाएको छ।

