दिपेन्द्र पासवान
सप्तरी, २८ कार्तिक । प्रथम भुसिमहुलिया मिनी गोल्ड कप–२०८३ अन्तर्गत आयोजक श्री गोल्डेन युथ क्लब (जीवाईसी) भुसिमहुलिया फाइनलमा प्रवेश गरेको छ।

जेवाईसी गाईघाट र आयोजक जीवाईसी भुसिमहुलियाबीच भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक टोलीले १–० गोलको जित निकाल्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीका खेलाडीहरूले उत्कृष्ट खेलकौशल प्रदर्शन गरेका थिए। अन्ततः एक गोलको अग्रता कायम राख्दै जीवाईसी भुसिमहुलियाले ऐतिहासिक जित हासिल गर्न सफल भयो।
जितसँगै फाइनलमा पुगेको गोल्डेन युथ क्लबका खेलाडी, पदाधिकारी तथा समर्थकहरूमा खुसीयाली छाएको छ। क्लब परिवारले उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना खेलाडीहरूलाई बधाई दिँदै फाइनल खेलका लागि अग्रिम शुभकामना व्यक्त गरेको छ।
त्यसैगरी, खेललाई रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन योगदान पुर्याउने जेवाईसी गाईघाटसहित दुवै टोलीका खेलाडीप्रति आभार व्यक्त गरिएको छ।
खेल जित र हारमा मात्र सीमित नभई आपसी सद्भाव, मित्रता, एकता र खेलभावनाको सुन्दर संगमसमेत भएको क्लब परिवारले जनाएको छ।
अब गोल्डेन युथ क्लब भुसिमहुलियाले उपाधिका लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ।

