सप्तरीमा दोस्रो वडा गोल्ड कप सुरु, उद्घाटन खेलमा एमएमसी समसेरपुर विजयी

समता खवर सम्वादाता ।

सप्तरी,२२ कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका–११, खैजनपुर भजकामा “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ ‘दोस्रो वडा गोल्ड कप फुटबल प्रतियोगिता–२०८३’ भव्य रूपमा सुरु भएको छ।

श्री सन्यासी बाबा युवा क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको यस प्रतियोगिताको पहिलो उद्घाटन खेलमा एमएमसी समसेरपुरले स्पोर्ट्स एकेडेमी कुशाहालाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

युवामा एकता र स्थानीय प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उद्घाटन समारोह समाजसेवी मो. उलफतको प्रमुख आतिथ्यता तथा समाजसेवी एवं खेल सञ्चालक रामशरण चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा सुरुङ्गा नगरपालिका वडा नं. ४ का अध्यक्ष देवेन्द्र प्रसाद चौधरी, वडा नं. ८ का अध्यक्ष श्याम प्रसाद साह, पूर्व वडा अध्यक्ष इन्द्र देव चौधरी, सेवानिवृत्त शिक्षक शुभ नारायण चौधरी, समाजसेवी छेदी साह, सेवानिवृत्त चिकित्सक डा. आनन्द चौधरी, कालिन चौधरी,स्थानीय नेता महेन्द्र प्रसाद चौधरीलगायत स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

आयोजकका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार प्रमुख अतिथि मो. उलफतले सौजन्य गर्नुभएको छ भने द्वितीय पुरस्कारको व्यवस्थापन सुरुङ्गा–२ निवासी शिवकुमार चौधरी र उहाँकी धर्मपत्नी पुनम कुमारी चौधरीले गर्नुभएको छ।

प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को उद्घाटन खेलमा स्पोर्ट्स एकेडेमी कुशाहा (सुरुङ्गा–५) र एमएमसी (माँ मुसहर्निया क्लब, समसेरपुर धोती बजार) आमनेसामने भएका थिए। दुवै टोलीले उच्च प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे तापनि खेलको पहिलो हाफमै एमएमसी समसेरपुरले एक निर्णायक गोल गर्न सफल भयो। त्यसपश्चात् खेलको निर्धारित समयसम्म स्पोर्ट्स एकेडेमी कुशाहाले गोल फर्काउन नसक्दा एमएमसी १–० गोल अन्तरले विजयी भयो।

उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक गोलमा भूमिका खेलेका एमएमसीका जर्सी नम्बर ११ का खेलाडी अमन चौधरी ‘म्यान अफ द म्याच’ घोषित हुनुभएको छ। यस प्रतियोगिताले ग्रामीण क्षेत्रका युवाहरूमा खेलकुदप्रति आकर्षण बढਾउनुका साथै स्थानीय प्रतिभा प्रस्फूटनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *