समता खवर सम्बादाता।
राजविराज, २२ असार । भ्याक्सिनेटरहरूबाट भुक्तानी रकमको २० प्रतिशतसम्म कमिसन (घुस) मागेको आरोपमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा परेको सूचना तथा उजुरीका आधारमा सोमबार खटिएको टोलीले राजविराज नगरपालिका–३ स्थित कार्यालयमा छापा मारेर दुवै जनालाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार पीपीआर रोगविरुद्ध बाख्रा तथा अन्य पशुचौपायामा खोप लगाउने भ्याक्सिनेटरहरूबाट सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकममध्ये २० प्रतिशत कमिसन मागिएको थियो। कार्यालय प्रमुख डा. दासको निर्देशनमा चालक यादवले भ्याक्सिनेटरहरूसँग रकम माग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।
छापाका क्रममा चालक यादवबाट घुसस्वरूप लिइएको रु. ३३ हजार ३५० नगद, स्रोत नखुलेको रु. ४८ हजार ७० गरी जम्मा रु. ८१ हजार ४२० बरामद गरिएको छ। साथै विभिन्न रकम उल्लेख भएका चेक, मोबाइल फोन तथा अन्य कागजातसमेत बरामद गरिएको अख्तियारले जनाएको छ।
पीपीआर खोप अभियानमा संलग्न भ्याक्सिनेटरहरूले प्रति बाख्रा ५ रुपैयाँ र अन्य पशुचौपायामा १० रुपैयाँका दरले पारिश्रमिक पाउने व्यवस्था छ। सम्बन्धित वडाध्यक्षबाट कार्य प्रमाणित गराई भुक्तानीका लागि निवेदन दिएपछि रकम निकासा हुने भए पनि कार्यालयबाट कमिसन मागिएको भन्दै भ्याक्सिनेटरहरूले सामूहिक रूपमा अख्तियारमा उजुरी दिएका थिए।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले पनि अख्तियारको टोलीले कार्यालय प्रमुख र चालकलाई नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

