अस्पतालको गेटमै सुत्केरी, अञ्चल स्पतालको सेवामाथि गम्भीर प्रश्न

समता खवर सम्बादाता ।

राजविराज, २५ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी एक गर्भवती महिलाले अस्पतालकै गेटबाहिर सडकमा शिशु जन्माउनुपरेको घटना सार्वजनिक भएको छ। घटनाले अस्पतालको आकस्मिक प्रसूति सेवा र विपन्न नागरिकप्रतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ।

राजविराज नगरपालिका–१४ निवासी भागवत पासवानकी बुहारी तथा हरेराम मण्डलकी श्रीमती करिब ३५ वर्षीया बबिता पासवानले बुधबार राति करिब २ बजे अस्पतालको मुख्य गेटबाहिर तेस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी हुन्।

परिवारका अनुसार सुत्केरी व्यथा लागेपछि बबितालाई राति करिब १ बजे अस्पताल पुर्‍याइएको थियो। तर तत्काल प्रसूति सेवा सुरु गर्नुको सट्टा स्वास्थ्यकर्मीले थप स्वास्थ्य परीक्षण गराएर ल्याउन भनेको परिवारको आरोप छ।

परीक्षणका लागि करिब ३ हजार २ सय रुपैयाँ लाग्ने जानकारी पाएपछि आफूहरूसँग तत्काल २ हजार ५ सय रुपैयाँ मात्र रहेको र बाँकी रकम बिहान बुझाउने बताउँदै सहयोग मागे पनि सुनुवाइ नभएको श्रीमान् हरेरामको दाबी छ।

परिवारका अनुसार अस्पतालमा परीक्षणपछि ‘एक घर मात्र खुलेको’ भन्दै घर फर्किन सक्ने सुझाव दिइएको थियो। त्यसपछि बबितालाई अस्पतालबाट बाहिर निकालिएको र केही समयमै प्रसव व्यथा बढेपछि अस्पतालको गेट तथा सडकछेउमै बच्चा जन्मिएको परिवारले जनाएको छ।

अस्पतालजस्तो संवेदनशील संस्थामा प्रसव पीडामा रहेकी महिलाले सुरक्षित प्रसूति कक्षको सट्टा सडकमा बच्चा जन्माउनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न उठेको छ। विशेषगरी आर्थिक रूपमा विपन्न तथा दलित समुदायका नागरिकका लागि सरकारी अस्पताल अन्तिम भरोसा मानिन्छ।

पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए जिम्मेवार स्वास्थ्यकर्मीमाथि कारबाही गर्न माग गरेको छ। साथै आगामी दिनमा कुनै पनि गर्भवती महिलाले अस्पतालको गेटमा होइन, सुरक्षित प्रसूति कक्षमै बच्चा जन्माउन पाउने व्यवस्था सुनिश्चित गर्न माग गरिएको छ।

घटनाबारे गजेन्द्रनारायण सिंह अस्पताल प्रशासनको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *