सुरुङ्गा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

दिपेन्द्र पासवान

कुशहा, २० असार। सप्तरीको सुरुङ्गा नगरपालिकाले नगरस्तरीय पूर्ण खोप सुनिश्चितता, दिगोपना तथा प्रमाणीकरण घोषणा कार्यक्रम–२०८३ सम्पन्न गर्दै प्रत्येक बालबालिकालाई नियमित खोप सेवामा शतप्रतिशत पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

नगरपालिकाको सभाहलमा “उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता यही हो हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नगरप्रमुख गीता चौधरीको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, जनस्वास्थ्य प्रमुख डा. सतिशकुमार यादव, विभिन्न वडाका अध्यक्ष, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गीता चौधरीले पूर्ण खोप सुनिश्चितता हासिल गर्नु नगरपालिकाका लागि गौरवको विषय भएको बताउँदै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरिन्। उनले स्वास्थ्य सेवा विस्तार, नियमित अनुगमन तथा जनचेतनामूलक अभियानलाई थप प्रभावकारी बनाइने बताइन्।

प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले पूर्ण खोप सुनिश्चितता स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसको दिगोपनाका लागि स्थानीय तह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए।

जनस्वास्थ्य प्रमुख डा. सतिशकुमार यादवले नियमित खोप कार्यक्रमले बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्ने भएकाले कुनै पनि बालबालिका खोप सेवाबाट छुट्न नहुने बताए। स्वास्थ्य शाखा प्रमुख दसन चौधरीले नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र समुदायको सक्रिय सहकार्यले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गर्न सफल भएको उल्लेख गर्दै यसको दिगोपनाका लागि सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको बताए।

सुरुङ्गा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रमको सञ्चालन पोषण प्रमुख भूषण सुरैत यादवले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *