समता खवर सम्बादाता।
सप्तरी , २६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियाका चार युवाको १७ दिन बित्न लाग्दासमेत कुनै खबर आएको छैन। रोजगारीका लागि घरबाट रसुवा पुगेका उनीहरू कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने जानकारी नपाउँदा परिवारजन दिनरात चिन्तामा छन्।
बाढी आएको दिनदेखि मोबाइलमा आएको प्रत्येक घण्टीले परिवारमा आशा जगाउँछ, तर केहीबेरमै त्यो आशा निराशामा बदलिन्छ। आफ्ना छोराहरूको अवस्थाबारे आधिकारिक जानकारी नपाउँदा बरमझियाका परिवारले सरकारसँग तत्काल खोजी तथा उद्धार गरिदिन आग्रह गरेका छन्।
सम्पर्कविहीनमध्ये अमरकान्त चौधरी रसुवास्थित अपर त्रिशूली–३ए जलविद्युत् आयोजनामा विगत १२ वर्षदेखि जुनियर मेकानिकका रूपमा कार्यरत थिए। बाढीपछि उनी परिवारको सम्पर्कमा आएका छैनन्।
अमरकान्तकी श्रीमती प्रिमा चौधरीले श्रीमान्को तत्काल खोजी गरी अवस्था सार्वजनिक गरिदिन नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेकी छन्। उनका अनुसार बैंकबाट ऋण लिएर काठमाडौंमा घर निर्माण भइरहेको छ, तर घर अझै आधा पनि पूरा भएको छैन। श्रीमान् नै सम्पर्कविहीन भएपछि परिवार आर्थिक र मानसिक रूपमा थप समस्यामा परेको उनले बताएकी छन्।
बरमझियाकै २२ वर्षीय बिनोद सदा, २० वर्षीय मुकेश सदा र २१ वर्षीय बिनोद सदाको अवस्थासमेत अहिलेसम्म सार्वजनिक हुन सकेको छैन।

मुकेश सदा घरको आर्थिक बोझ केही हलुका बनाउने उद्देश्यले रोजगारीका लागि रसुवा पुगेका थिए। बाढीपछि उनीसँग परिवारको सम्पर्क टुटेको हो।
त्यस्तै, बिनोद कुमार सदा गत साउनमा घरखर्च जुटाउन रसुवा पुगेका थिए। उनी नुवाकोट र रसुवाको सीमाना त्रिशूली क्षेत्रमा नयाँ पुल निर्माणको काममा खटिएका थिए।
परिवारका अनुसार बाढी आउनुअघि मङ्गलबार राति बिनोदले आमा बिमला देवीसँग फोनमा कुराकानी गरेका थिए। कुराकानीका क्रममा उनले भनेका थिए, “आमा, यहाँ पानी परिरहेको छ, म भोलि फेरि फोन गर्छु।”
तर बिनोदले भनेको त्यो ‘भोलि’ अहिलेसम्म आएको छैन। बुधबार बाढीको खबर आएपछि आमाले छोरालाई पटक–पटक फोन गरे पनि सम्पर्क हुन सकेको छैन।
चार युवाको अवस्थाबारे लामो समयसम्म जानकारी नआएपछि परिवारजनको चिन्ता झन् बढेको छ। उनीहरूका परिवारले तत्काल खोजी तथा उद्धार अभियान सञ्चालन गरी सम्पर्कविहीन युवाहरूको अवस्था सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।
१७ दिन बित्न लाग्दासमेत आफ्ना मान्छेको खबर नपाएका बरमझियाका परिवार अहिले एउटै आशामा छन्—‘सकुशल फर्किएको खबर कहिले आउला?’

