समता खवर सम्बादाता ।
कुशहा, २५ भदौ । नेपाली कांग्रेस सुरुङ्गा नगर कार्यसमितिले महामानव तथा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ११३औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाएको छ।
बुधबार जन्मजयन्तीको अवसरमा सुरुङ्गा नगरपालिका–८ स्थित मुसहरनिया आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी हृदय नारायण चौधरीको आर्थिक सहयोगमा विद्यालयलाई आवश्यक विभिन्न शैक्षिक सामग्री उपलब्ध गराइएको आयोजकले जनाएको छ।
उक्त सामग्री विद्यालयका प्रधानाध्यापक बिमल चौधरी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा प्रसाद चौधरीलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बीपी कोइरालाले शिक्षा, लोकतन्त्र, सामाजिक न्याय र समानताका क्षेत्रमा देखाएको योगदानको स्मरण गर्दै उहाँको विचार र आदर्शलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिइएको थियो।
विशेषगरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका बालबालिकाले अध्ययन गर्ने विद्यालयमा शैक्षिक सामग्री सहयोग गरिनुले विद्यार्थीको पठनपाठनमा सकारात्मक सहयोग पुग्ने नेपाली काँग्रेसका नगर सभापती अशोक चौधरीले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य मो. उल्फत, भुपु.जिल्ला उप सभापती राजकुमार न्यौपाने,सुरुङ्गा ८का वडा अध्यक्ष श्याम प्रसाद साह तथा सुरुङ्गा नगर कार्य समितिका पदाधिकारी, युवा नेता, समाजसेवी, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
बीपी जयन्तीलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी शिक्षा, सामाजिक न्याय र अवसरबाट वञ्चित समुदायका बालबालिकाको पहुँच अभिवृद्धि गर्ने कार्यसँग जोडिनुपर्ने धारणा पनि कार्यक्रममा व्यक्त गरिएको थियो।

