दिपेन्द्र पासवान
कुशाहा, २८ कात्तिक । सुरुङ्गा नगरपालिका–३ को चहका कोरैया खोलामा वर्षौंदेखि भइरहेको गिट्टी–बालुवा उत्खननले कृषि, वातावरण र नदी संरचनामा गम्भीर असर पारेपछि स्थानीयवासी तथा किसानहरूले समस्या समाधान नहुन्जेल उत्खनन कार्य पूर्ण रूपमा रोक्ने सामूहिक निर्णय गरेका छन्।
स्थानियका अनुसार खोलाबाट ठूलो परिमाणमा भइरहेको उत्खननका कारण नदीको प्राकृतिक बहाव बिग्रँदै गएको, नहर अवरुद्ध हुने, किनार भत्किने तथा खेतीयोग्य जमिन बगरमा रूपान्तरण हुने समस्या तीव्र बनेको छ। उनीहरूको भनाइमा आर्थिक लाभभन्दा नदी–जमिनको विनाश धेरै ठूलो देखिएको छ।

यिनै चर्किंदो समस्यालाई केन्द्रमा राख्दै शुक्रबार दौलतपुरस्थित सामुदायिक भवनमा स्थानीय किसान र नगरपालिकाबीच द्विपक्षीय बृहत छलफल गरिएको थियो।
छलफलमा नगरपालिकातर्फबाट उप–प्रमुख रुद्र बहादुर कार्की, प्रशासकीय प्रमुख घनश्याम पोखरेल, वडा नं. ३ का अध्यक्ष किरण कुमार पोखरेल, इन्जिनियर इन्द्रप्रसाद चौधरी र राजस्व शाखाका नविन दनुवार उपस्थित थिए। किसान र स्थानीयवासीको पनि बाक्लो उपस्थिति रहेको थियो।
बैठकमा किसानहरूले विगत देखिनै समस्या समाधानका माग राख्दै आएको तर नगरपालिकाले चासो नदिएको गुनासो दोहोर्याए। उप–प्रमुख कार्कीले “नदी व्यवस्थापन र सिचाइ पूर्वाधार बनाउन ठूलो बजेट चाहिने भएकाले वर्षेनी थोरै–थोरै लगानी गर्दै जाने” प्रस्ताव राखे पनि किसानहरूले उक्त प्रस्ताव अस्वीकार गरेपछि छलफल बिना निष्कर्ष टुंगिएको थियो।
यता, किसानहरूले २०७९ साउन ६ मा नगरपालिकामा पेश गरिएको लिखित सम्झौता तथा मागपत्र अझै बेवास्ता भएको आरोप लगाएका छन्।
“हामीले माग गरेका एक–एक बुँदामा नगरपालिका मौन बस्दै आएको छ। माग पुरा नभएसम्म उत्खनन र बिक्री–वितरण पूर्ण रूपमा रोक्छौँ,” स्थानीय पीडित हनुमानदेव चौधरीले भने।

अर्का किसान लट्टु चौधरीले निरन्तर उत्खननका कारण वर्षौंदेखि ‘छोटी पंजाब’ भनेर चिनिने उब्जाउ बस्ती हाल जोखिममा परेको बताए।
“पहिले कहिल्यै खडेरी पर्दैनथ्यो, तर उत्खनन बढेपछि खेती घट्दै गइरहेको छ। आम्दानी कसैलाई होला, तर क्षति नदी, जमिन र किसानलामात्रै भइरहेको छ,” उनले भने।
स्थानीयवासी तथा किसानले गरेको उक्त सामूहिक निर्णय नगरपालिकामा औपचारिक रूपमा पेश गरिने जनाएको छ। उनीहरूका अनुसार नगरपालिकाले अब योजनालाई प्राथमिकतामा राखेर गम्भीर कदम चाल्नुपर्छ, नत्र उत्खनन रोक्ने निर्णय दीर्घकालीन रूपमा कायम रहनेछ।

