समता खवर सम्बादाता।
राजविराज, ३० कात्तिक । सप्तरीको राजविराजमा खानेपानी सेवाको भविष्य अनिश्चित बन्दै गएको आरोप लगाउँदै स्थानीय युवाहरू आइतबार नेपाल खानेपानी संस्थान राजविराज शाखामा तालाबन्दी गरेका छन । खानेपानी सेवा सुधार भन्दा चलखेल बलियो हुँदै जाँदा सिंगो नगरकै खानेपानी व्यवस्थापन जोखिममा परेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।
जेनजी अगुवा मो. मुस्तकिम आलमको नेतृत्वमा पुगेको समूहले कार्यकुशल मानिएका निमित्त प्रमुख राजाराम यादवलाई सरुवा गरेर संस्थानलाई नेतृत्वविहीन बनाइएको दाबी गर्दै कार्यालयमै तालाबन्दी गरेका छन् । उनीहरु भन्छन्,“काम गर्ने जनशक्ति हटाइयो, उपभोक्ता मारिँदै छन्।”
युवाहरूले पहुँच र व्यक्तिगत स्वार्थका आधारमा गरिने ‘कर्मचारी खेलबाड’ का कारण नगरबासीले वर्षौंदेखि अस्थिर सेवा भोगिरहेको बताए । उनीहरूको आरोप छ, “१८ वर्षदेखि डेरा जमाएर बसेकालाई जोगाउने, जनताका पक्षमा काम गर्ने लाई हटाउने ? यही नीति हुँदा संस्थान कमजोर बन्दै गएको हो।”
युवाहरूले शुक्रवार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर, काठमाडौंमा ज्ञापन बुझाइसकेका छन् । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत पठाइएको ज्ञापनपत्रमा प्रमुख यादवको सरुवा फिर्ता गरी राजविराज शाखालाई स्थिर नेतृत्व दिन जोडदार माग गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाईसमेत बोधार्थ राखि पठाईएको ज्ञापनपत्रमा युवाहरूले यदि जनभावना विपरीत कदम दोहोरियो भने,कडा रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

