सुरुङ्गा नगरपालिका सप्तरीमा प्रथम, मधेश प्रदेशमा तेस्रो


समता खबर सम्बादाता ।
कुशहा, ९ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को गुणस्तर परीक्षण सम्पन्न गरी सार्वजनिक गरेको नतिजामा सुरुङ्गा नगरपालिका जिल्लामै पहिलो र प्रदेशस्तरमा तेस्रो स्थानमा परेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार सुरुङ्गा नगरपालिकाले ७७ अंक प्राप्त गरेको हो । स्थानीय तहहरूको संस्थागत क्षमता, सेवा प्रवाह, योजना कार्यान्वयन, वित्तीय व्यवस्थापन, सुशासन र नागरिक सहभागिताका आधारमा गरिएको मूल्याङ्कनमा सुरुङ्गाले उत्कृष्ट अंक ल्याउन सफल भएको हो ।
सप्तरीका अठार स्थानीय तहमध्ये सुरुङ्गा पहिलो स्थानमा पर्नु उल्लेखनीय भएको सरोकारवालाहरूले बताएका छन् । मधेश प्रदेशका १३६ स्थानीय तहबीचको प्रतिस्पर्धामा समेत सुरुङ्गाले तेस्रो स्थान हात पारेपछि यसलाई नगरवासीले उपलब्धिका रूपमा लिएका छन् ।
यसैगरी, मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)को गुणस्तर परीक्षणको सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाका १८ बटा पालिकाहरु मध्ये सप्तकोशी नगरपालिका ७०.५ अंक ल्याई दास्रो तथा खडक नगरपालिकाले ६९.५ अंक सहित तेस्रो स्थान ओगटन सफल भएको छ ।
विशेषगरी, जिल्लाभित्रका केही नगरपालिका उच्च सूचकाङ्कसहित अग्रस्थानमा पुगेका छन् भने ग्रामीण क्षेत्रमा रहेका केही गाउँपालिका पछाडि परेका छन ्। प्रतिवेदनले कमजोर देखिएका पालिकाहरूलाई क्षमता विकास, प्राविधिक सहयोग र सुधारमुखी कार्ययोजना आवश्यक रहेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *