ढल्केबरमा अनलाइन सञ्चारकर्मीका लागि दुई दिने तालिम सुरु

ढल्केबर (धनुषा),२४ चैत । मधेश प्रदेशमा कार्यरत अनलाइन सञ्चारकर्मीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले समाचार लेखन तथा सम्पादनसम्बन्धी दुई दिने तालिम मंगलबारदेखि धनुषाको ढल्केबरमा सुरु भएको छ।


आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा सञ्चालन भइरहेको उक्त तालिममा प्रदेशका आठवटै जिल्लाबाट अनलाइन सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरूको सहभागिता रहेको छ।

सहभागीहरूले तालिम अवधिभर समाचार लेखनका आधारभूत सिद्धान्त, समाचार संरचना, शीर्षक निर्माण, तथ्यपरकता र सन्तुलन, साथै सम्पादनका व्यावहारिक पक्षहरूबारे प्रशिक्षण लिनेछन्।


तालिमको उद्घाटन मधेश प्रदेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादवले गरेका थिए। कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्व अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेशकुमार कर्ण तथा मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष सुरेश यादवले पत्रकारिताको गुणस्तर अभिवृद्धिका लागि यस्ता तालिम प्रभावकारी हुने बताएका थिए।


तालिमका मुख्य सहजकर्ता समेत रहेका झाले सहभागीहरूलाई समाचार लेखन र सम्पादनसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गर्नेछन्।

कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले प्रदेशमा सञ्चारकर्मीहरूको हकहित संरक्षण तथा क्षमता विकासका लागि विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिए।
उनका अनुसार हालसम्म जनकपुरधामस्थित आमसञ्चार प्राधिकरणमा १०४ वटा सञ्चारमाध्यम दर्ता भइसकेका छन्।

दुई दिनसम्म सञ्चालन हुने उक्त तालिमले सहभागी सञ्चारकर्मीहरूको पेशागत क्षमता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *