कुशहा (सप्तरी), २७ चैत्र। सप्तरीको सुरुङ्गा नगरपालिका अन्तर्गत कुसाहा–बेल्ही निर्माणाधीन सडकखण्डमा शुक्रबार बिहान भएको यातायात अवरोध करिब डेढ घण्टापछि सहमतिपछि खुलेको छ। सडक अवरुद्ध हुँदा सो रुटमा चल्ने सवारी साधन र यात्रुहरू प्रभावित भएका थिए।
बिहान ९:३० बजेदेखि सिटी, अटो तथा म्याजिक चालकहरूले सडक अवरुद्ध गरेका थिए। यातायात व्यवसायी अरुण कुमार झाले निर्माणाधीन सडकको दुरावस्थाका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए।
चालकहरूको अनुसार सडकमा गहिरा खाल्डाखुल्डी, हिलो र अत्यधिक धुलोका कारण सवारी सञ्चालन जोखिमपूर्ण बनेको छ। उनीहरूले कम्तीमा सडकको एक साइड तत्काल सञ्चालन गर्नुपर्ने, खाल्डाखुल्डीमा माटो तथा ग्राभेल हालेर आवतजावत सहज बनाउनुपर्ने र धुलो नियन्त्रणका लागि नियमित पानी छर्किनुपर्ने माग गरेका छन्।

आन्दोलनपछि निर्माण कम्पनी, स्थानीय प्रहरी, जय वावा बजरंगबली यातायात प्रा.लिका प्रतिनिधि तथा सरोकारवालाबीच भएको छलफलमा मागहरू तुरुन्त कार्यान्वयन गर्ने सहमति भएपछि अवरोध हटाइएको हो।
उक्त आयोजना मधेश प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय सप्तरीमार्फत कार्यान्वयन भइरहेको छ। करिब १७ करोड ४९ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको सडकको जिम्मा बिजयेश्वरी तथा वैभव/कृष्णलक्ष्मी जेभी, काभ्रेलाई दिइएको छ।
२०८२ असार ११ गते सम्झौता भएको यो आयोजना २०८४ असार १० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाअन्तर्गत भराव, संरचना निर्माण, ड्रेन तथा क्रस–ड्रेन, सब–बेस, बेस, डामर तथा रोड मार्किङका कामहरू समावेश छन्।
तर निर्माण कार्य सुस्त गतिमा अघि बढ्दा स्थानीय बासिन्दा तथा चालकहरूले निरन्तर समस्या भोग्दै आएका छन्। आन्दोलनकारीहरूले समयमै काम सम्पन्न गर्न र निर्माण व्यवस्थापन सुधार गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
जय वावा बजरंगबली यातायात प्रा.लीका अध्यक्ष पवन कुमार यादवले सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

