आफ्नै श्रीमतीलाई छुरा देखाई बलात्कार गर्ने श्रीमान्लाई ६ महिना कैद

समता खबर सम्बादाता ।
जनकपुर धाम, ७ भदौ ।
विवाह भएको एक सातामै श्रीमतीलाई छुरा देखाई बलात्कार गरेको अभियोगमा एक पुरुषलाई दोषी ठहर गर्दै जिल्ला अदालत जनकपुरले ६ महिना कैद र एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।
धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार बर्देवाको इजलासले श्रीमतीको मन्जुरीबिना जबर्जस्ती करणीको पुष्टि भएपछि जेठ ३० सो सजाय सुनाएको हो ।
पीडित र अभियुक्तबीच २०७९ वैशाख १४ सामाजिक परम्पराअनुसार विवाह भएको थियो । श्रीमान्ले हनिमुनका लागि काठमाडौं जान श्रीमतीलाई प्रस्ताव गरे । श्रीमतीले राम्ररी चिनजान हुन नसकेकोले पछि जाने बताइन् । तर, विवाह भएको एक सातापछि वैशाख २१ गते श्रीमान् राति साढे ९ बजे मदिरा सेवन गरी कोठामा प्रवेश गरे । श्रीमतीले खाना खान आग्रह गरिन् । तर, श्रीमानले कोठाको चुकुल लगाई बलात्कार गरेको पिडित महिलाको अभियोग पत्रमा उल्लेख छ ।
पिडितले ‘मलाई छुरा देखाएर राक्षसी प्रवृतिले मेरो मन्जुरीबिना नै बलजबर्जस्ती बेडमा लडाई मैले लगाएको लुगा फुकाली, जबर्जस्ती करणी गरी रक्तामे बनाएको,’ पीडितको अभियोगपत्रमा उल्लेख छ ।
श्रीमान्को बलात्कारबाट यौनांग च्यातिएर घाइते भएकी पीडितले जनकपुरधामको रामजानकी अस्पतालमा १० दिन उपचार गराएकी थिइन् । उनी थप उपचार भारतको सीतामढीमा पनि गराएपछि पीडित माइती घर फर्किएकी थिइन् ।
पीडितका तर्फबाट बहस गरेका अधिवक्ताले मेडिकल रिपोर्ट, उपचार भएको अस्पतालको कागज, पीडितको स्वास्थ्य परिक्षण गर्ने डाक्टरहरुको बकपत्र तथा पीडितको बकपत्र, बुझिएका मानिसहरुको बकपत्र व्यहोराबाट पुष्टि भएकाले अभियोग दाबी बमोजिम सजाय हुनुपर्ने जिकिर गरेका थिए ।
न्यायाधीश बर्देवाले दुवै पक्षका वकिलहरुको बहस तथा वादी–प्रतिवादीको बयान पश्चात् पीडितको वैवाहिक अवस्थामा जबरजस्ती करणी गरेको दाबी पुष्टि भएको ठहर गरेका थिए ।
‘पीडित र प्रतिवादीबीच हालसम्म पति–पत्नीको नाता नै रहेको देखिन्छ । वारदात पश्चात् पनि प्रतिवादीको साथमा पीडित रहेको, पीडितलाई प्रतिवादीले नै उपचारमा वारदातको समयमा र सो पश्चात् पनि लगेको भन्ने देखियो,’ पूर्णपाठमा उल्लेख छ, ‘प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(४) बमोजिम कसुर गरेको हुनाले ६ महिना कैद र उक्त संहिताको दफा २२८ बमोजिम एक लाख क्षतिपूर्ती बापतको रकम दिलाई भराई पाउने फैसला गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *