राजविराज, ८- बैशाख | सीमावर्ती क्षेत्रमा कडाइ बढेसँगै सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएका लत्ताकपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बलको टोलीले एकै रातमा करिब १० लाख रुपैयाँभन्दा बढी मूल्यका कपडा नियन्त्रणमा लिएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित सप्तकोसी नदीको बगरबाट बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएका कपडा तथा मेसिनरी सामग्री बरामद गरिएको हो। भारततर्फको सीमावर्ती बजारबाट भन्सार छली गरी ल्याइएका ती सामान सशस्त्र प्रहरी बल नम्बर ६ गण मुख्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी निरीक्षक विकास श्रेष्ठको कमान्डमा खटिएको ११ सदस्यीय मोबाइल टोलीले साेमबार बिहान उक्त सामग्री बरामद गरेको बताइएको छ। बरामद गरिएका लत्ताकपडा तथा मेसिनरी सामग्रीको अनुमानित मूल्य रु. १०,९६,२६० रहेको प्रहरीले जनाएको छ।
सीमाक्षेत्रमा अवैध रूपमा सामान भित्र्याउने गतिविधि बढ्दै गएपछि सुरक्षा निकायले निगरानी कडा बनाएको छ। पछिल्लो समय गरिएको कडाइका कारण यस्ता अवैध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन र गतिविधि रोक्न थप प्रभावकारी कदम चालिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी राजविराजस्थित भन्सार कार्यालयमा बुझाइएको छ। साथै, यस घटनासँग सम्बन्धित व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको प्रहरीले बताए ।

