सुरुङ्गा नगरपालिकाले मेला–महोत्सव तथा शुभकामना कार्यक्रममा झण्डै ६ लाख खर्च, महालेखाले उठायो प्रश्न

सप्तरी । सुरुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न मेला, महोत्सव, पूजा तथा शुभकामना कार्यक्रममा रु. ५ लाख ९८ हजार ४ सय खर्च गरेको पाइएको छ। तर उक्त खर्चको पुष्ट्याइँ हुने आवश्यक कागजात पेश नभएको भन्दै महालेखापरीक्षकको कार्यालयले खर्चको औचित्यमाथि प्रश्न उठाएको छ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३(६) ले सार्वजनिक खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य कायम गर्नुपर्ने व्यवस्था गरेको छ। साथै स्थानीय तहले सार्वजनिक खर्चलाई मितव्ययी बनाउन मापदण्ड तर्जुमा गरी लागू गर्नुपर्ने भए पनि सुरुङ्गा नगरपालिकाले यस्तो मापदण्ड तयार नगरेको उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार नगरपालिकाले रिंकु कुमारी यादव लाई तीज तथा जातीय शुभकामना कार्यक्रम सञ्चालनका लागि रु. १ लाख ६९ हजार ४ सय तथा तीज पर्व का लागि रु. १ लाख ३० हजार भुक्तानी गरेको छ। त्यसैगरी नेपाल मगर संघ लाई माघी पर्व का लागि रु. ५० हजार, रामाकान्त चौधरी लाई राजदेवी र लक्ष्मी पूजा का लागि रु. ४९ हजार तथा नाजिर मिया र रामकिसुन मोची लाई वडा नं. ६ विवाह पञ्चमी मेला सञ्चालनका लागि रु. २ लाख भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ।

महालेखापरीक्षकले यी कार्यक्रमसँग सम्बन्धित विविध खर्चको पुष्ट्याइँ, खरिद गरिएका सामग्रीको उपयोग तथा मौज्दात पुष्टि गर्ने कागजात र अन्य प्रमाण पेश नभएकाले खर्चको यथार्थता पुष्टि गर्न नसकिएको जनाएको छ।

प्रतिवेदनले सार्वजनिक स्रोतको उपयोग गर्दा अधिकतम प्रतिफल सुनिश्चित हुने गरी खर्च गर्नुपर्नेमा यस्ता खर्चमा आवश्यक नियन्त्रण गरी मितव्ययितालाई प्राथमिकता दिन सुरुङ्गा नगरपालिकालाई सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *