लहान (सिरहा) — सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहामा ५ असोजदेखि बेपत्ता रहेका १५ वर्षीय अभिषेक सिंह ७ असोज बिहान घर नजिकैको आँपको बगैंचामा मृत अवस्थामा फेला परेका थिए ।
तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेपछि शंका मृतकका काका पंकज सिंहतर्फ गयो। कुकुर पंकजका बुबा विन्देश्वर सिंहको आँगनसम्म पुगे पनि घरका अन्य सदस्यसम्म नगएको प्रहरी स्रोतले जनाएको छ। सो समयमा १७ वर्षीय पंकज छतमा बसेका थिए।
‘अभिषेक हराएपछि खोजतलासमा सक्रिय देखिएका पंकज कुकुर टोली आउँदैछ भन्ने खबर सुनेपछि छतमा पुगेका रहेछन्। त्यसपछि शंका बलियो बनेर उनलाई नियन्त्रणमा लिइयो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।
प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा पंकजले आफैं हत्या गरेको स्वीकार गरेका छन्। घटनामा प्रयोग भएको गम्छा, प्लास्टिकको ड्रम र दुवै पक्षका मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
सिरहाका एसपी अनन्त शर्माका अनुसार, ‘मुख्य दोषी पत्ता लागिसकेको छ। आवश्यक प्रमाण संकलन भइसकेको छ। केही निष्कर्ष बाँकी छ, जुन पछि सार्वजनिक गरिनेछ।
अनुसन्धानअनुसार पंकजले योजनाबद्धरुपमा अभिषेकको हत्या गरेका छन्। घटनापूर्वै उनले खेतमा खाल्डो खनेर प्लास्टिकको ड्रम तयारी अवस्थामा राखेका थिए। खेल्न जाने भन्दै अभिषेकलाई लगेपछि जिस्के जस्तो गर्दै गम्छाले दुवै हात बाँधेर घाँटी थिचेर हत्या गरेको उनले बयान दिएका छन्।
हत्या पश्चात शवलाई ड्रममा राखी माटोले पुरिएको थियो। तर त्यही रात पानी परेपछि ड्रम बाहिर देखिन थालेपछि पंकजले शव निकालेर आँपको बगैंचामा फालेका थिए।
हत्या लुकाउन उनले आफन्तसँगै खोजतलासमा सहभागी भएका थिए। तर ६ असोज बिहान भने उनले अभिषेककी आमालाई इमोमार्फत पाँच करोड रुपैयाँ फिरौती माग्दै धम्कीपूर्ण सन्देश पठाएका थिए। सो प्रयोजनमा प्रयोग गरिएको मोबाइल पनि प्रहरीले पंकजकै घरभित्र फेला पारेको छ।
पंकजले अभिषेकले ट्याक्टर चलाउन नदिएकै कारण हत्या गरेको बयान दिएका छन्। अभिषेक आमा रेखादेवीका एक्ला छोरा थिए। उनका पिता सञ्जय सिंहको करेन्ट लागेर १० वर्षअघि मृत्यु भएको थियो। पैतृक सम्पत्ति भएर अभिषेक खेतीपातीमा सक्रिय थिए।
अभिषेकको नाममा करिब चार बिघा जमिन रहेकाले हत्या सम्पत्तिसँग पनि जोडिएको हुनसक्ने प्रहरीको आशंका छ। पंकजले घटना एक्लै गरेको दाबी गरे पनि अन्य संलग्नता हुनसक्ने अनुमानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप अनुसन्धान अघि बढाएको छ।
अभिषेकको मृत्युपछि उनकी आमा आघातमा परेकी छन्। गाउँमा भने घटना पछि त्रास र आक्रोश फैलिएको छ।

