अछुत भन्दै सिरहामा डोम परिवारमाथि कुटपिट, विस्थापित गर्ने प्रयास

समता खवर सम्बादाता

सिरहा, १८ भदौ । सिरहाको सुखिपुर नगरपालिका–१० विश्वकर्माचोकस्थित एक डोम (मलिक) परिवारमाथि बुधबार बिहान कुटपिट भएको छ । ‘अछुत’ भन्दै स्थानीय महतो समुदायका व्यक्तिहरूले गणपैत मलिककी श्रीमती समुन्द्रा मलिक र ज्वाई संजय मलिकमाथि दाउराले आक्रमण गरी कुटपिट गरेको वडा अध्यक्ष देव नारायण यादवले जानकारी दिएका छन्।

उनका अनुसार सहदेव महतो, सुकदेव महतो, श्यामसन्दर महतो, नागेन्द्र महतोलगायतको समूहले पटक–पटक धम्की दिंदै डोम परिवारलाई विस्थापित गर्न दबाब दिँदै आएका थिए । “डोम परिवारलाई जसरी भए पनि हटाउने योजनाअन्तर्गत नै कुटपिटको घटना भएको हो,” वडा अध्यक्ष यादवले भने ।

पीडित गणपैत मलिकले आफ्नो घर अगाडि रहेका महतो परिवारले निरन्तर गाली–गलौज गर्ने, फोहर फाल्ने, धम्की दिने, पसलमा सामान किन्न नदिने जस्ता कार्य गर्दै आएको आरोप लगाए । उनका अनुसार विगतमा करिब सात लाख मूल्य बराबरका एक दर्जन सुँगुरलाई विष खुवाएर मारिएको घटनामा समेत सोही समूहको संलग्नता रहेको थियो ।

गएराति घर नजिकै सर्प देखिएपछि झाडी सफा गर्ने क्रममा झगडा सुरु भई कुटपिटसम्म पुगेको थियो । घटनामा घाइते भएकी समुन्द्रा मलिकलाई धनगढीमाई नगरपालिका–८ कसहास्थित एक निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनको ढाड र गालामा गम्भीर चोट लागेको स्वास्थ्य संस्थाले जनाएको छ ।

डोम परिवार करिब १५ वर्षअघि गोलबजार नगरपालिका–१३ दुर्गापुरबाट बसाइँ सरेर उक्त क्षेत्रमा आएका थिए । तर पछिल्लो पाँच–छ वर्षयता मात्र बसाइँ सरेका महतो परिवारले उनीहरूलाई निरन्तर दुःख दिने र विस्थापित गर्ने प्रयास गर्दै आएको पीडित पक्षको आरोप छ ।

यसअघि पनि वडा स्तरमै छलफल बोलाइएको भए पनि पीडक पक्षका प्रतिनिधि उपस्थित नभएको वडा अध्यक्ष यादवले जानकारी दिएका छन् । उनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *