समता खवर सम्वादाता ।
सप्तरी, २४ कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका ३ मा प्रथम भुसिमहुलिया मिनी गोल्ड कप फुटबल प्रतियोगिता २०८३ भव्य रूपमा सुरु भएको छ । श्री गोल्डेन युवा क्लबको आयोजनामा सुरु भएको यस प्रतियोगिताको उद्घाटन खेलमा JYC उदयपुरले खडक नगरपालिकाको टोलीलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक बनेको उद्घाटन म्याचमा एक गोलको अग्रतालाई अन्त्यसम्म जोगाउँदै JYC उदयपुरले पहिलो जित दर्ता गरेको हो भने खडक नगरपालिकाको टोलीले पहिलो खेलमै हार बेहोर्नुपरेको छ।

प्रतियोगिताको औपचारिक उद्घाटन सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरीले मैनबत्ती प्रज्वलन गर्नुका साथै रेफ्रीलाई बल हस्तान्तरण गरेर गरेकी थिइन्। श्री गोल्डेन युवा क्लबका सभापति आनन्द चौधरी (खोनमा) को अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन समारोहमा नगर प्रमुख चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।
कार्यक्रममा नगर उपप्रमुख रुद्रबहादुर कार्की, पूर्वनगर प्रमुख मुक्तिनाथ चौधरी, समाजसेवी आनन्द चौधरी, पञ्चकन्या ज्वेलर्स बर्दिबासका सञ्चालक जितेन्द्र सिलवाल विक, लहान अटोमोबाइलका सञ्चालक प्रवानन्द साह तथा निर्माण व्यवसायी एवं समाजसेवी उमेश यादव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति रूपक राउत, नेपाली कांग्रेसका प्रतिनिधि विश्वेश्वरप्रसाद यादव, नेकपा एमालेका हरेराम चौधरीलगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

स्थानीय युवामा रहेको फुटबल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्नुका साथै खेलकुदमार्फत आपसी सद्भाव, अनुशासन र भाइचारा विकास गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
स्थानीय खेलाडीहरूलाई प्रतिस्पर्धाको उचित अवसर उपलब्ध गराउँदै समग्र फुटबल खेलको विकासमा योगदान पुर्याउने लक्ष्यसमेत राखिएको आयोजक संस्थाका श्री प्रसाद पासवानले जनाएको छ ।
आयोजक श्री गोल्डेन युवा क्लबले आगामी दिनमा हुने खेलहरूमा सहभागी भई खेलाडीहरूको हौसला बढाउन सम्पूर्ण स्थानीयवासी तथा खेलप्रेमीहरूमा हार्दिक आग्रह गरेको छ।

