समता खवर सम्बादाता।
राजविराज, ३० वैशाख। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलाबाट केही दिनअघि हराएकी एक महिलाको शव कोशी नदी किनारमा फेला परेको छ। शव फेला परेसँगै स्थानीयबासीहरुमा त्रास फैलिएको छ।
स्थानीय छोटु भनिने विरेन्द्र रायकी पत्नी अनिता देवी रायको शव सोमबार गाउँपालिका–५ अन्तर्गत ‘नौ किलोमिटर’ भन्ने स्थान नजिक कोशी नदी किनारमा सडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले शव फेला परेको पुष्टि गर्दै घटनामाथि संवेदनशील ढंगले अनुसन्धान भइरहेको बताए। उनका अनुसार शवको अवस्था हेर्दा हत्या गरिएको आशंका बलियो देखिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटिएको छ भने टाउकोमा ढुंगा प्रहार गरिएको जस्तो देखिएको छ। शव केही दिनअघि हत्या गरेर प्रमाण लुकाउने उद्देश्यले नदी किनारमा ल्याएर फालिएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।
शव सडिसकेको अवस्थामा रहेकाले घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का उठाएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
परिवारका अनुसार अनिता देवी राय गत बुधबार रातिदेखि हराइरहेकी थिइन्। सो रात छिमेकीको छोराको विवाहमा परिवारका अधिकांश सदस्य जन्ती गएका बेला उनी घरमा एक्लै थिइन्। त्यही मौका छोपी ५/६ जनाको समूहले उनलाई जबरजस्ती घरबाटै अपहरण गरेर लगेको परिवारको आरोप छ।
परिवारजनले महिलालाई लगिएको केही समयपछि घरको आँगनमा रगत देखिएको बताएका छन्। घटनापछि तत्काल प्रहरीलाई खबर गरिएको भए पनि महिलाको अवस्था अज्ञात रहेको थियो। लगातार खोजी भइरहेका बेला सोमबार शव फेला परेको हो।
घटनास्थलमा स्थानीयवासीको ठूलो भीड लागेको थियो। स्थानीयले दोषीको तत्काल पहिचान गरी पक्राउ गर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।
प्रहरीले शव पोस्टमार्टमका लागि राजविराजस्थित अस्पताल पठाउने तयारी गरेको जनाएको छ। पोस्टमार्टम रिपोर्टपछि घटनाबारे थप तथ्य खुल्ने विश्वास गरिएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
यस घटनाले जिल्लामा महिलामाथि हुने हिंसा र सुरक्षा व्यवस्थाको विषयलाई पुनः गम्भीर रुपमा उठाएको स्थानीयवासीको भनाइ छ।

