समता खवर संवाददाता
कुसाहा, ३० बैशाख। सुरुङ्गा नगरपालिकाले आफ्नै कार्यालयबाट करदाता सेवाको औपचारिक शुभारम्भ गरेको छ। आन्तरिक राजस्व कार्यालय लहान र करदाता सेवा कार्यालय राजविराजसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै नगरपालिकाले बुधबार देखि व्यक्तिगत र व्यापारिक प्यान (प्यान) दर्ता सेवा सुरु गरेको हो।
नगरपालिकाका अनुसार सेवा सुरु भएकै पहिलो दिन व्यक्तिगत प्यान (PPAN) लिने पहिलो व्यक्ति वडा नं. २ हर्दियाका सुरेन्द्र प्रसाद यादव बन्नुभएको छ। यस्तै, व्यावसायिक प्यान (BPAN) तर्फ वडा नं. ९ टिकुलियास्थित चौधरी किराना तथा चिया पसल पहिलो नम्बरमा दर्ता भएको छ।
नगर कार्यपालिकाको कार्यालयले यसअघि नै सूचना जारी गरी २०८३ वैशाख २९ गतेबाटै प्रक्रियागत तयारी पूरा गरेर ३० गतेदेखि सेवा प्रवाह सुरु गरेको हो। प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले स्थानीय स्तरमै सेवा उपलब्ध भएपछि अब नगरबासीले सामान्य प्यान कार्ड बनाउनका लागि पनि अन्य सहर धाउनुपर्ने, यातायात खर्च र समय खर्चनुपर्ने झन्झट नहुने बताउनुभयो।
नगरपालिकाले आफ्ना ११ वटै वडाका बासिन्दा र स्थानीय व्यवसायीहरूलाई यस सेवाको लाभ लिन आह्वान गरेको छ। स्थानीय सरकारले नागरिकका सानातिना प्रशासनिक कामलाई आफ्नै दैलोबाट उपलब्ध गराउन सुरु गरेपछि सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन्।
सुरुङ्गा नगरपालिकाबाटै करदाता सेवा सुरु: अब राजविराज र लहान धाउनु नपर्ने

