मलहनमा माविका पहिलो एसईई ब्याचका विद्यार्थी सम्मानित, नगरपालिकाभर दोस्रो उत्कृष्ट नतिजा

समता खबर संवाददाता ।
कुशहा, ८ जेठ
। श्री मा.वि. मलहनमाका पहिलो ब्याचका विद्यार्थी सम्मानित भएका छन् । पहिलोपटक एसईई परीक्षामा सहभागी गराएको ब्याचबाटै विद्यालयले ८६.६७ प्रतिशत नतिजासहित सुरुङ्गा नगरपालिकाभर दोस्रो स्थान हासिल गरेपछि विद्यालयले शुक्रबार सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालक दास चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि गीता चौधरीले सीमित स्रोत र न्यून जनशक्तिका बाबजुद विद्यालयले हासिल गरेको उपलब्धिलाई उदाहरणीय भएको बताइन् । “शिक्षक अभाव हुँदाहुँदै पनि विद्यालयले जुन नतिजा ल्याएको छ, त्यो निकै प्रशंसनीय छ,” उनले भनिन्, “यसले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास अझ बढाएको छ ।”

नगरप्रमुख चौधरीले विद्यालय परिवार, शिक्षक तथा उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा शिक्षा क्षेत्रको विकासका लागि नगरपालिका सकारात्मक रहेको उल्लेख गरिन् ।

कार्यक्रममा वडा अध्यक्ष श्याम प्रसाद साहले प्रावि र निमावि शिक्षकको भरमा मावि तहसम्मको पठनपाठन सञ्चालन गर्दै आएको विद्यालयले उत्कृष्ट नतिजा ल्याउनु चुनौतीबीचको सफलता भएको बताए । उनले विद्यालयको मेहनत र विद्यार्थीको लगनशीलताले सामुदायिक विद्यालयको छवि बलियो बनाएको धारणा राखे ।

नगर प्रवक्ता शिव दर्शन पासवानले दलित तथा श्रमिक समुदायका विद्यार्थीले हासिल गरेको सफलता समाजका लागि प्रेरणादायी भएको बताए । “सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट नतिजा सम्भव छ भन्ने प्रमाण मलहनमा माविले दिएको छ,” उनले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालक दास चौधरीले पहिलो ब्याचबाटै विद्यालयले उत्कृष्ट नतिजा ल्याउनु सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय भएको बताए । उनले शिक्षकहरूको मेहनत, अभिभावकको साथ र विद्यार्थीहरूको अनुशासनका कारण विद्यालयले छोटो समयमा नै राम्रो पहिचान बनाउन सफल भएको उल्लेख गरे । “अब विद्यालयलाई अझ गुणस्तरीय र व्यवस्थित बनाउँदै लैजाने हाम्रो लक्ष्य छ,” उनले भने ।

विद्यालयका प्रधानाध्यापक राम कुमार महराले शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त मेहनतले विद्यालयले पहिलो ब्याचमै उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयलाई थप उत्कृष्ट बनाइने उनले जानकारी दिए ।

यस वर्ष सुरुङ्गा नगरपालिकाभित्र श्री जनता मा.वि. शिशुवरी ८७.१४ प्रतिशत नतिजासहित पहिलो बनेको छ भने श्री मा.वि. मलहनमा ८६.६७ प्रतिशत नतिजासहित दोस्रो स्थानमा परेको विद्यालय स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *