
नेपालमा २०८२ भदौ २३ र २४ गतेको ऐतिहासिक ठूलो बलिदानी जेन्जी आन्दोलनको प्रतिफल संदिग्ध हुँदा वर्तमान विषम परिस्थितीमा सिङ्गो मुलुक अहिले प्रसव पीडाकालबाट गुज्रिरहेको छ। आन्दोलनबाट निर्मित शुशीला कार्की सरकारको काम-कारबाही र उनको पहिलेका वक्तव्य बीच एकरुपमा नहुँदा स्वयं जेन्जीहरुले आफ्ना असंतुष्टि व्यक्त गर्दै आफुहरू ठगिएका अनुभव गरिरहेका छन्।
तिनीहरूका मांग-मुद्दा एवं एजेण्डाहरू प्रष्ट रुपमा सार्वजनिक भई रहँदा प्रधानमन्त्रीले २०८२ फाल्गुन २१ गते घोषित मध्यावधि निर्वाचन गर्ने-गराउने मात्र आफ्नो कार्यादेश रहेको र भइरहेको संविधानको सीमारेखा बाहिर जान नसक्ने बताईरहदा आफ्नै नियुक्ति आन्दोलनबाट मात्र संभव भएको बिर्सिन्छिन्, जुन आन्दोलनको मर्म विपिरित निराशाजनक एवं दु:खद छ।
आन्दोलनको राप-ताप एवं शक्तिशाली सरकारको फितलो प्रदर्शनका कारण ‘उल्टे चोर कोतवाल के डाँटे’ शैलीमा भ्रष्टहरूले आफुलाई समातेर कारबाही गर्न चुनौती दिइरहँदा आमजनतामा वडो नकारात्मक सन्देश प्रवाहित भएको छ। तित्राको मुखै बैरी भए झैं सत्ताधीश भई रहँदा कसैलाई मान्छे नगन्ने सधैभरी घोचपेच गरी बोल्ने र व्यवहार गर्ने नानिदेखिको परपीडक ( sadist) बानीका कारण सत्ताको हयाङओभरबाट बाहिर निस्किन नसक्नाले यिनीहरुका धम्की बेहोर्न र बकवास सुन्न जनता विवश छन्।फेरि प्रधानमन्त्रीले असल जेन्जीहरुको खोजी भई रहेको बताएको अवस्थामा बरु तिनीहरुले उठान गरेका ऐजेण्डामा काम-कारबाही थाल्दा सबैले राहतको सांस फेर्न पाउँथे होलान्।
कुनै पनि आन्दोलनको शुरूवात र निष्कर्ष सधैंभरी एउटै सरलरेखामा अगाडि बढ्दैन। जेन्जीहरुले आफैले बनाएका सरकार विरुद्ध पनि पुन: थप कार्यक्रम ल्याउने हुन् कि भन्ने विचारनीय छ। उता सत्ताशीन दलहरूका अवशेषहरुले आ-आफ्ना ठाँउबाट नाटक मंचन थालिसकेका रहेछन्। थप जनधनको क्षति हुन सक्ने अवस्था उत्पन्न हुनु किमार्थ स्विकार्य छैन। सम्बन्धित सबैलाई चेतना भया।

