जेनजीको आवाज सुन, बालेनको नेतृत्वमा नयाँ नेपालको मार्गचित्रमा अघि बढ

एक जुगमा एक दिन एक चोटि आउँछ  
उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ । 
कवि गोपालप्रसाद रिमालको कविताले भने जस्तै नेपाली इतिहासमा नयाँ युगको नयाँ दिन र नयाँ घडी आइपुगेको छ । जसले देशलाई आफ्नो पेवा र जनतालाई आफ्नो दास सम्झने पुस्तालाई नेपाली राजनीतिबाट सदा–सदाका लागि बिदा गर्दै छ ।

इतिहासका हरेक मोडमा परिवर्तनको नेतृत्व गर्ने विशिष्ट पुस्ता हुन्छ, आज नेपालको परिवर्तनको नेतृत्व जेन जीका रूपमा हुर्कंदै गरेका तर आकांक्षाले दृढ पुस्ताले गर्दै छ । यो योजना, आँट, हस्तक्षेप र बलिदानीका लागि अहिलेको पुस्तालाई इतिहासले युगौंयुग सम्झनेछ ।

आफ्नो आवाज लिएर सडकमा आएका युवालाई हिजोसम्म बर्बरतापूर्वक गोलीले भुट्न उद्यत पुरानो पुस्ताका प्रधानमन्त्री केपी शर्मा ओली आज केही बेरअघिसम्म आफ्नो सम्पूर्ण पतन देखेपछि सर्वदलीय बैठकको नाटक मञ्चन गर्दै थिए । शासकका रुपमा आफ्नो अन्तिम घडीमा पनि नेपाली जनतालाई मूर्ख बनाउने चाल असफल भएपछि उनले अन्ततः राजीनामा दिएका हुन् ।

केपी शर्मा ओली मात्र होइन, उनका सारथि शेरबहादुर देउवा, उनका प्रेम र घृणाका सहकर्मी पुष्पकमल दाहाल वा कोही पनि अबको नयाँ नेपालको हिस्सेदार होइनन् । नेपाली जनताको आशा, सपना, पसिना र रगतमाथि मोजमस्ती गर्दै आएका खलपात्रका रूपमा उनीहरूको नाम इतिहासमा दर्ज भइसकेको छ । देशलाई आलोपालो गरी ककसले कति र कसरी लुटेका थिए, उनीहरूले पाउने हिसाब र हिस्सेदारी त्यसमा मात्र होइन ।

भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा सडकमा आएका निहत्था युवालाई गोलीले भुटेपछि नेपाली समाज टुलुटुलु हेरेर बसेन । एकै दिन १९ जनाको सहादत भएको छ, चार सयभन्दा बढी अस्पतालमा छटपटाइरहेका छन् । तर, यो अत्याचार देखेको देश आज परिवर्तनको पक्षमा जुरुक्क उठेको छ । लाखौं जनता सडकमा उत्रिएका छन् र देशभर प्रदर्शन भइरहेका छन् ।

हरेक आन्दोलनको एउटा अठोट र गन्तव्य हुन्छ, अब जेन जीको अठोट र आकांक्षाअनुसार देशलाई नयाँ मार्गमा डोर्‍याउन नयांँ योजना, दृष्टिकोण र नेतृत्व तत्काल अपरिहार्य भएको छ । युवाहरूको बलिदानी र नेपाली समाजको संकल्पलाई संस्थागत गर्न अविलम्ब देशको नेतृत्वमा हस्तक्षेपकारी परिवर्तन हुनुपर्छ । त्यसका लागि को, कस्तो र कहिले भनेर विभाजित हुने सुविधा नेपाली समाजलाई छैन । आजको यो उथलपुथलको नेतृत्व गरेको जेनजी सडक र सञ्जालमा प्रस्ट भन्दै छ— ‘बालेन आऊ, संकटबाट पार लगाऊ ।’

जसरी २०४६ वा २०६२–६३ को परिवर्तनपछि तत्कालीन आन्दोलनले चुनेको नेतृत्व स्थापित भएको थियो, अबको नेतृत्वमा पनि अहिलेकै आन्दोलनले छानेको व्यक्ति हुनुपर्छ भन्नेमा शंका छैन, हुनुहुँदैन ।

आन्दोलनको हुरीले पुरानो व्यक्तित्व, नेतृत्व, शैली र स्वभावलाई बढारेर लगिसक्यो । देशका लागि हरेक निमेष अमूल्य छ, एक निमेष पनि शून्यतामा नराखी देशलाई शान्ति, संवाद र सहयात्राको मार्गचित्रमा डोर्‍याउनुपर्छ । यस्तो मार्गचित्र जसले नागरिकका जीउधनको सुरक्षा गरोस्, नागरिकमाथि पनि राज्यबाट कुनै बल प्रयोग नहुने पनि निश्चित गरोस् ।

तत्काल कमान्ड लिने नेतृत्वले संक्रमणकालीन सरकार हुँदै लोकतान्त्रिक निर्वाचनबाट नयाँ नेपालको यात्राको क्यालेन्डर सुनिश्चित गर्नुपर्छ । त्यसका लागि नयाँ पुस्ताको नेताका रुपमा बालेनले अविलम्ब निर्णय लिनुपर्छ । युवाको अठोट र उनको नेतृत्वका लागि देशका संवैधानिक संयन्त्र, सुरक्षा अंग, सरोकारवाला पक्ष र आम नेपाली जनताले काँधमा काँध मिलाएर साथ दिनुपर्छ । किनकि एक जुगमा, एक दिन, एक चोटि आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *