विष्णुपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न

रामनाथ राम

राजविराज,९ जेठ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं–३ मुहसहरनियाँस्थित ऋषिनाथ मन्दिर प्राङ्गणमा राष्ट्रिय स्वतन्त्र पार्टीको गाउँपालिका स्तरीय प्रथम पार्टी विस्तार भेला सम्पन्न भएको छ ।

जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संगठन विस्तार, राजनीतिक चेतना अभिवृद्धि तथा भ्रष्टाचारविरुद्ध जनआवाज उठाउने विषयमा विशेष जोड दिइएको थियो ।

पालिका संयोजक शिवराम साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला संगठन विभाग संयोजक शिव यादव, क्षेत्रीय नेता उपेन्द्र कुमार साह, प्रमेश्वर सदा, विरेन्द्र प्रसाद राम, जगदीश मण्डललगायत नेताहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा गाउँपालिकाका वडा नं–१ देखि ७ सम्मका युवा, विद्यार्थी, महिला तथा स्थानीय नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले स्थानीय तहमा मौलाएको नातावाद, कृपावाद तथा भ्रष्टाचार अन्त्य गर्दै पारदर्शी र जनउत्तरदायी पालिका निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

गायक सन्तोष अमातले केवल “भ्रष्टाचारमुक्त समाज” भन्ने नाराले मात्र परिवर्तन सम्भव नहुने भन्दै जनतामा चेतना, इमानदारी र सामाजिक उत्तरदायित्व आवश्यक रहेको बताए।

भेलाबाट शिवराम साह सभापति, बुधसागर मेहता उपसभापति, ॐप्रकाश “राजु” यादव सचिव तथा अर्जुन यादव सहसचिव चयन भएका छन्। बाँकी सदस्य चयन गरी ११ सदस्यीय समितिलाई पूर्णता दिने जनाइएको छ ।

कार्यक्रमको अन्त्यमा आफ्नो मन्तव्य राख्दै अध्यक्ष साहले गाउँपालिकाका सम्पूर्ण नागरिकलाई संगठनमा आबद्ध हुन आग्रह गर्दै समाजमा ब्याप्त भ्रष्टाचार, विभेद र राजनीतिक विकृति विरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *