समता खवर सम्बादाता
कुशहा, ३१ असार । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मलहनमाका प्रदीप कुमार पासवानले आफ्ना छोराको पहिलो जन्मदिनको अवसरमा गाउँकै श्री माध्यमिक विद्यालय मलहनमाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
पासवानले छोराको पहिलो जन्मदिनलाई सामाजिक सद्भाव र सहयोगका रूपमा मनाउने उद्देश्यले बालविकास र कक्षा १ मा अध्ययनरत ७० जना बालबालिकालाई कापी र पेन्सिल वितरण गरेका हुन्।
शैक्षिक सामग्री वितरणपछि विद्यालयमा छोटो कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकुमार महराले जन्मदिनजस्तो खुशीको दिन समाज र विद्यालयसँग बाँड्ने प्रवृत्ति प्रशंसनीय रहेको बताए। उनले भने, “समाजका शिक्षित र सचेत अभिभावकले यस्ता सकारात्मक कार्य गर्दा विद्यालय र बालबालिका दुवै लाभान्वित हुन्छन्।”
विद्यालय व्यवस्थापन समिति सदस्य बिरेन्द्र पासवानले यस्ता सहयोगी कार्यले विद्यार्थीमा पठनपाठनप्रति रुचि र उत्साह बढाउने बताए। उनले स्थानीय स्तरमा शिक्षाको सुधारका लागि अभिभावक र समुदायको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
छोरा आरभ पासवानको पहिलो जन्मदिनका अवसरमा सहयोग गरेका बुवा प्रदीप कुमार पासवानले भने, “जन्मदिनमा खर्चिलो पार्टीभन्दा पनि केही अर्थपूर्ण काम होस् भन्ने सोचका साथ विद्यालयका साना विद्यार्थीलाई सामग्री वितरण गरेको हुँ,” भन्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

