समता खवर सम्बादाता ।
कुशहा,२९ असोज । सप्तरीको रुपनी गाउँपालिका–६ बिरेन्द्र बजारमा सोमबार बिहान करिब ३ः३० बजे चोरी प्रयासको घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ। स्थानीय रजनीश यादव ट्रक लिएर बाहिर निस्किँदै गर्दा उनले छिमेकी विनय भगतको घरअगाडि दुई जना युवकलाई शंकास्पद गतिविधि गरिरहेको देखे। नजिक गएपछि उनले स्करपियो (ना. १ च ७१३) गाडी चोरी गर्ने प्रयास भइरहेको थाहा पाए।
चोरहरूले स्करपियोको सिसा फुटाई त्यसभित्रको चावी निकालेर स्टार्ट गर्ने प्रयास गरेका थिए। व्याट्री डाउन भएको स्करपियोमा नजिकैको पिकअपको व्याट्री खोलेर जोड्ने तयारीमा रहेका ती दुई जनालाई रजनीशले हल्ला गरेपछि अन्य स्थानीय बासिन्दा पनि जागा भए र तत्कालै दुबैलाई नियन्त्रणमा लिए।
स्थानीयहरूले नियन्त्रणमा लिएका ती व्यक्तिलाई इलाका प्रहरी कार्यालय रुपनीमा बुझाएका थिए। पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–४ का २५ वर्षीय अमन यादव र उनका भाइ २१ वर्षीय सुमन यादव रहेका छन्।
प्रहरी अनुसन्धानमा पत्ता लाग्यो कि अमन यादव यसअघि काठमाडौंस्थित प्रहरी बृत्तमा लागूऔषध (ब्राउन सुगर) मुद्दामा पक्राउ परेका थिए। तर, उनी गत भदौ २४ गते “जेनजी आन्दोलन” का क्रममा प्रहरी हिरासत कक्षबाट भागेका थुनुवा हुन्।
हिरासतबाट भागेपछि उनी पुनः चोरी जस्ता आपराधिक गतिविधिमा संलग्न भएको पुष्टि भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए। उनका अनुसार अमन यादवले फरार भएपछि पुनः सप्तरीमा आएर अपराध सुरु गरेका थिए तर यसपटक स्करपियो चोरी प्रयासकै क्रममा पक्राउ परे।
सप्तरीका प्रहरी प्रमुख एसपी गौतम केसीले यस घटनापछि प्रहरी निगरानी अझ कडाइका साथ बढाइएको बताए।
“हामी यस्ता फरार अभियुक्तहरूका गतिविधि नजिकबाट नियालीरहेका छौं,” एसपी केसीले भने, “कहींकतै यस्ता व्यक्ति देखिए तत्काल प्रहरीलाई जानकारी दिन सबैलाई अनुरोध छ।”
यो घटनाले प्रहरी हिरासत वा कारागारबाट भागेका थुनुवाहरू पुनः आपराधिक कार्यमा संलग्न भइरहेको तीतो वास्तविकता उजागर गरेको छ। प्रहरीका अनुसार अहिले पनि केही फरार अभियुक्तको खोजी तीव्र रूपमा भइरहेको छ।

