समता खबर सम्बादाता ।
राजविराज ,२४ भदौ । सोमबार काठमाडौमा भएको नरसंहारको विरुद्ध आन्दोलनमा उत्रिएका जेनजी ( १२ बर्षदेखि २८ बर्ष मुनी उमेर समुह) का समर्थकहरुले मंगलबार सप्तरीका करिब एक दर्जन सरकारी कार्यालय तथा पाटी कार्यालयहरुमा तोडफोडको साथै आगजनी गरेका छन् ।
मंगलबार बिहान देखि प्रदर्शनमा उत्रिएका जेनजी समर्थकहरुले राजबिराज स्थित नेकपा एमाले, नेपाली काँग्रेस , जनमत पाटी, जसपा लगायतका राजनैतिक दलका जिल्ला पार्टी कार्यालयहरुमा आगजनी गरेका छन् । त्यसै गरी आक्रोसित जेनजी समर्थक युवाहरुले राजबिराज स्थित जिल्ला अदालत, उच्च अदालत, जिल्ला बन डिभिजन कार्यालय तथा ट्राफिक बिट कार्यालय र राजबिराज नगरपालिकामा समेत गरेको तोडफोड र आगजनीबाट करोडौको बराबरको क्षति भएको स्थानियबासीहरुले बताएका छन् ।
जेनजी समुहको आन्दोलनमा सरकारले बल प्रयोग गरी निहत्था, निर्दाेष आफ्ना सहकर्मीहरुको हत्या गरेको भन्दै आन्दोलनमा उत्रिएका आक्रोशित जेनजी समूहले जिल्लाका बिभिन्न स्थानिय तहका कार्यालयहरुमा समेत आगजनी र तोडफोड गरेका छन् ।
आक्रोसित जेनजी समर्थकहरुले कंचनरुप नगरपालिकाको कार्यालय, बोदेबर्साईन नगरपालिका लगायतका स्थानिय तहका कार्यालयहरुमा समेत तोडफोड गरी क्षति पु¥याएको छ भने कंचनरुपको चाँदनी चौक स्थित नेकपा एमाले पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् ।
त्यस्तै सप्तरीको बोदे बर्साईन नगरपालिकामा मंगलबार प्रदर्शनकारीहरुले पालिकाको गेटमा तोडफोड गर्नुको साथै सरकारी नम्बर प्लेटका तीनबटा मोटर साईकल, एक ट्रयाक्टर सहित मेयर चढने सरकारी गाडीमा समेत आगजनी गरेका छन् । प्रत्यक्षदर्शिका अनुसार सोही नगरपालिका ५ का बडा कार्यालयमा समेत आगजनी गर्दा कार्यालयमा रहेका सम्पुर्ण कागजातहरु जलेर नष्ट भएको जनाएका छन् ।

