समता खवर सम्बादाता ।
सप्तरी,२६ भदौ । सप्तरीमा पछिल्ला समय भएको आन्दोलनलाई बाह्य घुसपैठ मार्फत हिंसात्मक बनाइएको भन्दै प्रमुख राजनीतिक दलहरूले संयुक्त धारणा सार्वजनिक गरेका छन् । उनीहरूले युवाको माग र आन्दोलनलाई समर्थन जनाउँदै आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र धनजनको क्षति “अत्यन्तै निन्दनीय” भन्दै कडा शब्दमा भर्त्सना गरेका छन् ।
जिल्लामा क्रियाशिल राजनीतिक दलहरुद्धारा बिहिबार जारी संयुक्त विज्ञप्तिमा “जेन.सी उमेर समूहका युवाहरूले पवित्र उद्देश्य सहित आन्दोलन सुरु गरेका हुन् । तर, घुसपैठकारीहरूले आन्दोलनलाई अस्वस्थ मोडमा पु¥याएर जिल्लामा अस्थिरता सिर्जना गरेका छन्, जुन जनताप्रति विश्वासघात रहेको जनाएका छन ।
बिज्ञप्ति मार्फत दलहरूले आन्दोलनमा संलग्न युवाको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था तत्काल गर्नुपर्ने र सरकारले शान्तिपूर्ण संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै, नेपाली सेनालाई राजनीतिक विवादमा नतानेर राष्ट्रिय सुरक्षामा सीमित राख्नुपर्ने माग गर्दै सेना राष्ट्रको गौरव हो, त्यसलाई दलगत स्वार्थका लागि प्रयोग गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने जारी बिज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रियता, लोकतन्त्र र संघीय गणतन्त्रको रक्षा गर्न विद्यार्थी, मजदुर, पेशाकर्मी, व्यापारी, नागरिक समाज र मानव अधिकारकर्मीलाई सक्रिय भूमिका खेल्न दलहरूले आह्वान गरेका छन् ।
यस विज्ञप्तिमा नेपाली कांग्रेसका सतन कुमार मण्डल, नेकपा (एमाले)का देवनाथ यादब, नेकपा (माओवादी केन्द्र)का सूर्यनाथ यादब र उमेश यादब, रास्वपाका अरुण देब, जसपाका लक्ष्मण यादब, लोकतान्त्रिक समाजवादी पार्टीका सुनिल कुमार झा, जनमत पार्टीका राम गमन साह, र नेकपा (एस) का प्रताप नारायण चौधरी लगायतका जिल्लाका नेताहरूको हस्ताक्षर छ ।

