समता खवर सम्बादाता
काठमाण्डौं, १ साउन । मिटरब्याज पीडित र नेपाल सरकारबीच ९ बुँदे सहमति भएपछि नौ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार भएको वार्ता पछि भएको सहमतिमा दुवै पक्षले हस्ताक्षर गर्दै सम्झौता तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सहमति अनुसार सरकारले मिटरब्याजलाई आर्थिक अपराधका रूपमा कानुनी मान्यता दिँदै यसको नियन्त्रणका लागि तीन महिनाभित्र विशेष ऐनको मस्यौदा तयार गर्नेछ । प्रस्तावित ऐनमा मिटरब्याजसम्बन्धी अपराधको स्पष्ट परिभाषा, पीडितको चल–अचल सम्पत्र् िफिर्ता गराउने, उचित क्षतिपूर्तिको व्यवस्था तथा यस्ता मुद्दा हेर्न छुट्टै न्यायाधिकरण गठन गर्ने प्रावधान समावेश गरिनेछ ।
सम्झौतामा फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास, बाध्यकारी चेकलगायत जालसाजीपूर्ण लिखतको अन्त्यका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने उल्लेख छ । वडा कार्यालयमा लिखत प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत, कर तिरेको प्रमाण तथा बैंकिङ कारोबारको प्रमाण अनिवार्य गर्ने व्यवस्था पनि गरिने भएको छ ।
साथै मिटरब्याजसम्बन्धी अपराधमा लिखतको फरेन्सिक परीक्षण, सम्पत्तिको स्रोत अनुसन्धान र आवश्यक परे सम्पत्र् िशुद्धीकरणसम्बन्धी कानुनअन्तर्गत समेत छानबिन गरिने सहमति भएको छ ।
पीडितका समस्या समाधानका लागि प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला स्तरीय सहजीकरण समिति गठन गरिनेछ । उक्त समितिले प्राप्त उजुरी छ महिनाभित्र फछ्र्योट गर्ने र आवश्यकताअनुसार नियमित बैठकमार्फत समस्या समाधानमा सहजीकरण गर्ने व्यवस्था गरिएको छ । त्यस्तै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन तथा समीक्षा समिति गठन गरी कार्यान्वयनको निगरानी गरिनेछ ।
सहमतिमा मिटरब्याज पीडितविरुद्ध दर्ता भएका फौजदारी मुद्दा कानुनबमोजिम फिर्ता लिने, अन्तिम फैसला भएका मुद्दामा सजाय मिनाहाको कानुनी प्रक्रिया अघि बढाउने तथा पीडितलाई राहत, आर्थिक सहायता र पुनःस्थापनाका कार्यक्रम वार्षिक बजेटमा समावेश गर्न अर्थ मन्त्रालयमा सिफारिस गर्ने विषय पनि समेटिएको छ।
सम्झौतापछि मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले जनकपुरदेखि काठमाडौंसम्म सञ्चालन गर्दै आएको ‘पैदल न्याय मार्च’ सहितका सबै आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। सरकार र आन्दोलनकारी पक्षले सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

