रिंकु सदाय मृत्यु प्रकरणमा अदालतको फैसला: वडासदस्यसहित १४ जनालाई कैद र जरिवाना

दिपेन्द्र पासवान
सिरहा, १७ वैशाख । सिरहाको नवराजपुर गाउँपालिका–१, भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कारपछि भएको शंकास्पद मृत्यु प्रकरणमा वडा सदस्य सहित १४ जना दोषी ठहर भएका छन्।
मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि जिल्ला अदालत सिराहाले १० वैशाखमा सजाय निर्धारण गर्दै घटनामा संलग्न व्यक्तिहरू मात्र होइन, गाउँमै पञ्चायती बसालेर मिलापत्र गराउने प्रयास गर्नेहरूलाई समेत कानुनी दायरामा ल्याएको छ।
मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले आंशिक रूपमा अभियोग प्रमाणित हुने ठहर गर्दै दोषीहरूलाई कैद र जरिवाना सजाय सुनाएको हो । अदालतका सूचना अधिकारी राधेश्याम यादवका अनुसार घटनामा संलग्न ३ जना नाबालक देखि स्थानीय जनप्रतिनिधिसम्म यस घटनामा दोषी देखिएका छन् ।
दोषी ठहर हुनेमा नवराजपुर–१ का वडासदस्य नथुनी साह सहित रामकृपाल मण्डल, बिन्देश्वर साह, कारी मुसहर, रामदेव सदाय, रामपुकार मण्डल, रामनारायण दास तत्मा, किसुनदेव दास तत्मा, रामसेवक साह, रामप्रित साह तेली र भगत सदाय रहेका छन्।
अदालतले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत विभिन्न दफामा सजाय निर्धारण गर्दै जनही ६ देखि ८ महिनासम्म कैद र जरिवाना तोकेको छ । वडासदस्य साहलाई थप ६ महिना कैद सजाय पनि सुनाइएको छ ।
यसका साथै, सबै प्रतिवादीबाट जनही ३५ हजार रुपैयाँ पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आदेश गरिएको छ । वडासदस्यले ४ सय र अन्यले जनही २ सय रुपैयाँ अतिरिक्त शुल्क पनि बुझाउनुपर्नेछ ।
यो फैसलाले गाउँस्तरमा हुने गैरकानुनी ‘पञ्चायती न्याय’लाई चुनौती दिएको छ भने गम्भीर अपराध लुकाउन खोज्ने प्रयासहरू कानुनी रूपमा दण्डनीय हुने स्पष्ट सन्देश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *