सप्तरीको सुरुङ्गामा लागू औषधसहित दुई जना पक्राउ, ५३ एम्पुल बरामद

कुशहा, सप्तरी । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले ५३ एम्पुल विभिन्न प्रकारका लागू औषधसहित मोटरसाइकल नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मिति २०८२ साल ९ महिना २७ गते दिउँसो करिब १:४५ बजे इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरी गस्ती टोलीले सुरुङ्गा नगरपालिका वडा नं. ४ मा चेकजाँचका क्रममा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको स ४ प ७७२३ नम्बरको प्लाटिना मोटरसाइकल रोकेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका वडा नं. ७ का २२ वर्षीय पारसमनी चौधरी र सोही स्थानका २० वर्षीय विनम चौधरी थारूको साथबाट लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ। विनम चौधरी थारूले लगाएको हुडीको अगाडिको गोजीमा लुकाइ–छिपाइ राखिएको अवस्थामा डायजेपाम १८ एम्पुल, फेनेरगन १७ एम्पुल र बुप्रेनोर्फिन १८ एम्पुल गरी जम्मा ५३ एम्पुल लागू औषध फेला परेको हो।
त्यसैगरी उनीहरूको साथबाट भिभो कम्पनीको एक थान स्मार्टफोन र एक थान कि–प्याड मोबाइल समेत बरामद गरिएको छ। लागू औषध, मोबाइल फोन तथा मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई सम्मानित सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हाल इलाका प्रहरी कार्यालय कडरवोना, सप्तरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *