समता खवर सम्बादाता ।
कञ्चनरुप (सप्तरी), कात्तिक १ । पत्रकार अनिश शेखमाथि दुर्व्यवहार भएको स्वीकार गरेको तीन दिन नबित्दै कञ्चनरुप नगर प्रमुख ललन प्रसाद गुप्ताले त्यस घटनालाई ‘निराधार’ दाबी गर्ने विज्ञप्ति आफु र आफ्नै पार्टीको भातृसंगठनबाट जारी गराएको आरोप लागेको छ।
घटनालाई ढाकछोप गर्ने राजनीतिक प्रयासको रूपमा लिइएको यो कदमले स्थानीय तहमा प्रेस स्वतन्त्रता, जिम्मेवार नेतृत्व र पार्टी संगठनको आचरणबारे गम्भीर प्रश्न खडा गरेको छ।
भातृसंगठनमार्फत ‘घटना नै नभएको’ दाबी
नेपाल मुस्लिम संघका तीन तहका संरचना — जिल्ला कार्य समिति, क्षेत्र नं. १ क्षेत्रीय समिति र मधेस प्रदेश कार्य समितिले असोज ३१ गते छुट्टाछुट्टै वक्तव्य जारी गर्दै पत्रकारमाथिको दुर्व्यवहारलाई “कपोकल्पित र निराधार” भनेका छन्।
संघका जिल्ला अध्यक्ष मोहम्मद जिब्रिल मियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा, “पत्रकारमाथि कुनै प्रकारको अभद्र व्यवहार भएको छैन,” भनिएको छ।
तर सोही विज्ञप्तिले मेयर गुप्तालाई राजनीतिक रूपमा जोगाउने प्रयास गरेको भन्दै स्थानीय पत्रकार, नागरिक समाज र दलित अधिकारकर्मीहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूका अनुसार, सत्ताको दबाबमा पार्टीका भातृसंगठनहरूलाई एउटै स्वरमा वक्तव्य निकाल्न लगाइनु पीडितमाथि दोस्रो चोट हो।
“मुस्लिम समुदायको मर्यादामाथि प्रहार”
कञ्चनरुप–२ का समाजसेवी मोइम शेखले सामाजिक सञ्जालमा लेखेका छन्,
“पत्रकारमाथि भएको दुर्व्यवहारलाई झुठ्याउने प्रयासले मुस्लिम समुदायकै इमान र मर्यादामाथि प्रहार गरेको छ। मेयर गुप्ताका निकट व्यक्तिहरूले पार्टीको नाम र हैसियत दुरुपयोग गरेर सत्य लुकाउन खोज्नु निन्दनीय छ।”
पीडित पत्रकारको प्रतिक्रिया
दुर्व्यवहारका शिकार पत्रकार अनिश शेखले पनि नेपाल मुस्लिम संघका विज्ञप्तिहरूप्रति तीव्र आपत्ति जनाएका छन्। उनले भने,
“मेयर गुप्ताले आफैं सप्तकोशी खबरका पत्रकार कैलाश माझीसँग कुरा गर्दै मेरोमाथि दुर्व्यवहार भएको स्वीकार गरिसक्नुभएको छ। त्यसमाथि २३ जना विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले प्रत्यक्ष देखेको घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाही माग गरिसकेका छन्। अब यस्तो विज्ञप्तिले केही फरक पार्दैन।”
उनले थपे,
“कुनै पार्टीको भातृसंगठनले वक्तव्य निकाल्दा बैठक बस्नु पर्दैन ? अध्यक्षले निकालेका हुन् कि सचिवले ? न्याय खोज्ने पत्रकारमाथि दोषीलाई बचाउने विज्ञप्ति आउनु नैतिक र राजनीतिक रूपमा अस्वीकार्य हो।”
‘सत्ताको प्रभाव’को आरोप
स्थानीय स्रोतका अनुसार, मुस्लिम संघका जिल्ला अध्यक्ष जिब्रिल मियाँ र प्रदेश सह–सचिव करिम शेख — दुवै मेयर गुप्ताकै सिफारिसमा पार्टीको जिम्मेवार पदमा पुगेका व्यक्ति हुन्। उनीहरूद्वारा जारी वक्तव्यमा नगर प्रमुखको स्पष्ट बचाउ गरिएको आरोप लगाइएको छ।
प्रधानाध्यापकहरूको भर्त्सना र प्रहरीको अनुसन्धान
नगरपालिकाभित्रका २३ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले बुधबार संयुक्त निर्णयपत्र जारी गर्दै पत्रकारमाथि भएको दुर्व्यवहारको घोर भर्त्सना गरेका छन्। उनीहरूले दोषीमाथि निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरेका छन्।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लेखबहादुर बिष्टले पत्रकार शेखको जाहेरी दर्ता भइसकेको र प्रारम्भिक अनुसन्धान सुरु भएको जनाएका छन्। उनका अनुसार, निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय भइरहेको छ।
प्रेस स्वतन्त्रता र सामाजिक न्यायबारे बहस
यो प्रकरणपछि कञ्चनरुपमा प्रेस स्वतन्त्रता, राजनीतिक हस्तक्षेप र दलित–मुस्लिम समुदायबीचको सामाजिक संवेदनशीलताबारे व्यापक बहस सुरु भएको छ। नागरिक समाजका प्रतिनिधिहरूले स्थानीय तहमा ‘सत्ताको घमण्ड’ र ‘सामाजिक न्यायप्रतिको बेवास्ता’ बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

