बाेदे बर्साइनमा मन्दिरका पुजारीको गोली हानी हत्या

समता खबर सम्बादाता

बोदेबर्साइन, २ कार्तिक । बोदेबर्साइन, २ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको अज्ञात व्यक्तिबाट गोली प्रहार गरी हत्या गरिएको छ । शुक्रबार राति मन्दिर परिसरमै गोली लागेर ७० वर्षीय पुजारी रामदुलार साहको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी डम्बर बहादुर पुरीका अनुसार साह आफ्नै कुटीको अगाडि रहेको बाटोमा पिसाब गरिरहेका बेला अज्ञात व्यक्तिले गोली चलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। ढाडको पछाडिबाट हानिएको गोली नाभी नजिक छिर्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्रहरीले दुई थान गोलीको खोका बरामद गरेको छ । हत्या गर्ने व्यक्ति फरार रहेको र उनको पहिचान अहिलेसम्म नखुलेकोले कुकुर परिचालन गरी खोजी कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पुजारी साह लामो समयदेखि कबिर बाबा मन्दिरमा बस्दै आएका थिए । उनी स्थानीय समुदायबीच धार्मिक रुपमा सम्मानित व्यक्ति मानिन्थे । स्थानीयका अनुसार साह विगत केही वर्षदेखि मन्दिरमा पूजा–पाठ गर्दै त्यहीँ एक्लै कुटीमा बस्दै आएका थिए ।

घटनापछि स्थानीयबासीमा त्रास फैलिएको छ । बिहानै प्रहरीले मन्दिर परिसर र आसपासको क्षेत्र नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प) पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस घटनालाई गम्भीर रुपमा लिएर सम्भावित कारण र संलग्न व्यक्तिहरूको खोजी जारी राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *