राजविराजमा जेन जेड आन्दोलनपछि सफाइ अभियान : धरोहर सबैको साझा सम्पत्ति — नगरप्रमुख इसरत प्रवीण

रामनाथ राम

राजविराज, ३१ भदौ । सप्तरीको सदरमुकाम राजविराज नगरपालिका क्षेत्र भित्र रहेका सरकारी कार्यालयहरू, विभिन्न पार्टी कार्यालयहरू तथा सडक छेउमा एक सातादेखि थन्किएको फोहर आजदेखि सफा गरिएको छ। जेन जेड आन्दोलनका क्रममा सरकारी कार्यालयमा आगजनी हुँदा खरानी बनेका फर्निचर र कागजातहरू समेत सडकमा फोहरको रूपमा थुप्रिएको थियो।

कार्यबाहक गर प्रमुख इसरत प्रवीणको अगुवाइमा विभिन्न वडाका जनप्रतिनिधि, कार्यालयका कर्मचारी, प्रहरी प्रशासन तथा राजविराजका स्वयम्‌सेवकहरूले संयुक्त रूपमा सफाइ अभियान सञ्चालन गरेका हुन्। नगर प्रमुख प्रवीणले फोहर व्यवस्थापनमा ढिलाइ हुनुको कारण आन्दोलनका क्रममा नगरपालिका भित्रका सम्पूर्ण सवारी साधन र फोहर व्यवस्थापनका सामग्री जलाईनु भएको बताएका छन्।

उनले भने — “राजविराज नगरपालिका भित्र रहेका सम्पूर्ण धरोहर केवल जनप्रतिनिधिको सम्पत्ति होइन, यो जनताले दिएको करबाट खरिद गरिएको साझा सम्पत्ति हो। यसलाई जोगाउने जिम्मेवारी हामी सबैको बराबर हुन्छ।”

जेन जेड आन्दोलनका कारण नगरपालिका सञ्चालनमा आएको चुनौतीलाई समेत स्वीकार्दै उनले युवाहरूको आक्रोशलाई गम्भीरतापूर्वक सुन्नुपर्नेमा जोड दिए। उनले थपे — “आन्दोलनले देखाएको असन्तुष्टिको सन्देशलाई हामीले सुधारात्मक दृष्टिले लिनुपर्छ। सरकारी प्रणालीमा देखिएको कमी कमजोरी सच्याएर पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री प्रशासनतर्फ अघि बढ्नु नै अबको प्राथमिकता हो।”

यो घटनाले राजविराजवासीलाई एक तर्फ आन्दोलनले दिएको चेतावनी सम्झाउने मात्र नभई, अर्कोतर्फ आफ्नै धरोहर र सम्पत्तिको मूल्यबोध गराउने अवसर पनि दिएको छ।

जेन जेडको आन्दोलनले ल्याएको ध्वंसले मात्रै होइन, त्यसपछि सुरु भएको पुनर्निर्माण र आत्मसमीक्षाले पनि समाजलाई नयाँ बाटो देखाउन सक्छ। धरोहर जलाउन सजिलो हुन्छ, तर संरक्षण गर्न सबैको साझा संकल्प चाहिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *