समता खवर सम्बादाता ।
कुशहा, १४ चैत्र । सुरुङ्गा नगरपालिकाको स्वास्थ्य शाखा मधुपट्टीको आयोजनामा “जनतासँग मेयर निःशुल्क स्वास्थ्य शिविर” कार्यक्रम शनिबार सम्पन्न भएको छ । २०८२ साल चैत १४ गते स्वास्थ्य शाखा तथा स्थानीय स्वास्थ्य चौकीको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरबाट २९९ जना बिरामी लाभान्वित भएका छन् ।
शिविरमा नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र, उपचारका लागि सहयोगी हातहरू नेपाल र नेपाल क्यान्सर समूहको संयुक्त सहयोग रहेको थियो ।
उक्त शिविरमा पाठेघर तथा स्तन क्यान्सर जाँच, स्त्रीरोग सम्बन्धी सेवा, प्रयोगशाला परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ । विशेषगरी महिलामा देखिने क्यान्सरको प्रारम्भिक पहिचान र सचेतना अभिवृद्धिमा कार्यक्रम केन्द्रित गरिएको स्वास्थ्य शाखा प्रमुख दशन चौधरीले जनाएको छ ।

शिविरमा क्यान्सर विशेषज्ञ डाक्टर दिपेन्द्र प्रसाद जैसवाल र डाक्टर स्मृति खनालले सेवा प्रदान गरेका थिए । साथै नेपाल क्यान्सर सपोर्ट ग्रुपकी कोषाध्यक्ष रेजिना मुल्मीको पनि उपस्थिति रहेको थियो ।
नगरपालिकाकी मेयर गीता चौधरीले आफैं क्यान्सर रोगसँग जुधेर आएको अनुभव सुनाउँदै यस्ता शिविरले नागरिकमा रोगप्रति सचेतना र समयमै उपचारमा पहुँच बढाउने बताइन् । “मैले क्यान्सर जस्तो गम्भीर रोगसँग संघर्ष गरेको अनुभव छ, त्यसैले समयमै जाँच र उपचार कति महत्वपूर्ण हुन्छ भन्ने कुरा नजिकबाट बुझेकी छु,” उनले भनिन्, “यही अनुभवले प्रेरित भएर नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरेका हौं।”
त्यस्तै, स्वास्थ्य शाखा प्रमुख दशन चौधरीले विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको जानकारी दिए । “धेरै नागरिक आर्थिक अभाव वा जानकारीको कमीका कारण समयमा स्वास्थ्य जाँच गर्न सक्दैनन्,” उनले भने, “यस्ता शिविरमार्फत स्थानीय स्तरमै गुणस्तरीय सेवा उपलब्ध गराउने र क्यान्सरजस्ता रोगको प्रारम्भिक पहिचान गर्ने हाम्रो उद्देश्य हो ।”
नगरपालिकाले आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिने जनाएको छ ।

