समता खवर सम्बादाता।
राजविराज, ११ चैत । प्रतिनिधि सभामा मधेशी दलित समुदायको न्यून उपस्थितिप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
जिल्ला प्रशासन कार्यालयमार्फत बुझाइएको ज्ञापनपत्रमा संविधानको धारा ४२ अनुसार पछाडि परेका समुदायलाई राज्यका निकायमा समान रूपमा सहभागी हुने अधिकार भएको उल्लेख गरिएको छ । तर हालैको प्रतिनिधि सभा निर्वाचनको अन्तिम सूचीमा मधेशी दलित समुदायको उपस्थिति न्युन रहेको जनाइएको छ ।
ज्ञापनपत्रमा मधेशी दलित समुदाय जनसंख्याको उल्लेख्य हिस्सा हुँदाहुँदै पनि नीति निर्माण तहमा पर्याप्त प्रतिनिधित्व नपाएको उल्लेख गर्दै यसले समावेशी लोकतन्त्रको कार्यान्वयनमाथि प्रश्न उठाएको जनाइएको छ । दलित क्लस्टरभित्र पनि मधेशी दलितलाई समेट्न नसकिएको अवस्थामा उनीहरू थप पछाडि पर्ने जोखिम औंल्याइएको छ ।
दलित सरोकारवालाहरुले बुधबार ज्ञापनपत्र मार्फत निर्वाचन प्रणाली र उम्मेदवारी छनोट प्रक्रियामा सुधार गरी मधेशी दलितका लागि निश्चित कोटा व्यवस्था गर्न तथा आगामी नियुक्ति, मनोनयन र राजनीतिक संरचनामा उनीहरूलाई प्राथमिकता दिन माग गरिएको छ ।

