सप्तरीमा १४ वर्षीया बालिका गर्भवती प्रकरण: गोप्य गर्भपतनको आशंका, आरोपित परिवार सम्पर्कविहीन

समता खवर सम्बादाता ।
राजबिराज, ७ चैत्र ।
सुर्खेतकी दलित बालिका अनिशा बिकेमाथि भएको बलात्कारपछि हत्या घटनाको पीडा अझ सेलाउन नपाउँदै सप्तरीमा फेरि एक नाबालिका जोडिएको गम्भीर घटना सार्वजनिक भएको छ । सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरमा १४ वर्षीया एक बालिका गर्भवती बनेको विषय बाहिरिएपछि स्थानीय समुदायमा तरंग फैलिएको छ ।

पीडित परिवारका अनुसार ती बालिका करिब ८ वर्षदेखि स्थानीय महेश्वर यादवको घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन्। सानै उमेरमा बुबाआमा गुमाएपछि आर्थिक अभावका कारण उनी उक्त घरमा काम गर्न बाध्य भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय कडरबोनामा दिएको निवेदनमा पीडितकी आफन्तले केही दिनअघि मात्र बालिका गर्भवती भएको जानकारी पाएपछि घरधनीसँग सोधपुछ गर्दा उनले घटनाबारे आफूलाई जानकारी नभएको भन्दै पन्छिएको आरोप लगाएकी छन् ।

तर स्थानीय स्रोत र छिमेकीहरूका अनुसार आरोपित पक्षले बालिकालाई अन्यत्र लगेर गोप्य रूपमा गर्भपतन गराएको हुन सक्ने आशंका गरिएको छ । यसले घटनाको प्रकृतिलाई थप गम्भीर बनाएको छ ।

सोही बिषयमा बुझ्न जाँदा, आरोपित महेश्वर यादब, उनकी श्रीमती रिता यादबलाई लगायत परिवारका सदस्यहरु सम्पर्क बिहिन रहेको छ ।

घटनामा घरधनी महेश्वर यादवसहित उनका परिवारका सदस्य तथा अन्य व्यक्तिहरूको संलग्नता हुन सक्ने भन्दै पीडित पक्षले उनीहरूलाई प्रहरीमा झिकाई निष्पक्ष छानबिन गर्न माग गरेको छ । दोषी जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही हुनुपर्ने उनीहरूको भनाइ छ ।

निवेदनमा अनुसन्धानका क्रममा ठोस प्रमाण खुलेमा विस्तृत जाहेरी दर्ता गरिने उल्लेख गरिएको छ। साथै बालिकाको स्वास्थ्य अवस्था र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

यस घटनाले बाल श्रम, बाल अधिकारको संरक्षण तथा यौन शोषणसम्बन्धी गम्भीर प्रश्न उठाएको छ। स्थानीय सरोकारवालाहरूले ढिलाइ नगरी निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले पिडक र पिडित बालिका दुबै पक्ष सम्पर्क बिहिन रहेकोले घटनाको बारेमा यथार्त कुरा आउन नसेको बताएका छन् । बहाँले पिडितको तर्फबाट निवेदन प्राप्त भएको पुष्टि गर्दै घटनाबारे गहन अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *