कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार ललिता दासलाई

दिपेन्द्र पासवान

काठमाडौं,२ चैत्र मानव अधिकार तथा शान्ति समाज ले यस वर्षको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०८२ ललिता दास तत्मा ‘विद्रोही’ लाई प्रदान गर्ने निर्णय गरेको छ।


समाजले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सामाजिक न्यायका लागि योगदान गर्ने व्यक्तिलाई हरेक वर्ष प्रदान गरिने रु. १ लाख १० हजार राशीको उक्त पुरस्कार यस वर्ष मधेशका दलित, महिला तथा सिमान्तकृत समुदायको अधिकारका लागि सक्रिय भूमिका खेलेको भन्दै दासलाई दिने निर्णय गरिएको हो। पुरस्कार छनोट समितिको बैठकले फागुन ३० गते उक्त निर्णय गरेको समाजले जनाएको छ।


सिरहा जिल्लाको सन्हैठा गाउँमा २०४२ साउन १४ गते जन्मिएकी दास हाल लहान निवासी हुन्। उनी मधेस प्रदेश सभाकी सदस्य हुन्। प्रदेश सभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सदस्यसमेत रहेकी दास जनता समाजवादी पार्टी नेपाल की केन्द्रीय सदस्य पनि हुन्।


जातीय तथा सामाजिक विभेद तथा उठिवासका घटनाविरुद्ध सडकदेखि सदनसम्म आवाज उठाउँदै ‘विद्रोही’ पहिचान बनाएकी दास मधेशमा भएका विभिन्न आन्दोलनमा सक्रिय रहँदै आएकी छन्। आन्दोलनका क्रममा उनी पटक–पटक पक्राउसमेत परेकी थिइन्।
२०७० दशकपछि सामाजिक आन्दोलनमा सक्रिय रहँदै आएकी दासले २०८० सालमा आमाको निधन हुँदा छोरीले शव बोक्न नहुने सामाजिक मान्यता तोड्दै माइती गाउँबाट कमला नदीसम्म आमाको शव बोकेर लैजाने काम गरेकी थिइन्। त्यसपछि १३ दिनसम्म कपाल खौरिएर काजक्रियामा बसेको घटना पनि चर्चामा आएको थियो।


विगतमा रेडियो पत्रकारितामा पनि सक्रिय रहेकी दासका दर्जनौं लेख–रचना विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका छन्।


समाजका केन्द्रीय सभापति रेनुका पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा सामाजिक न्यायको आन्दोलनमा पुर्‍याएको योगदानको कदरस्वरूप दासलाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *