समता खवर सम्बादाता ।
राजविराज,२५ भदौ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय छानबिन टोली आजै राजविराज प्रस्थान गर्ने भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीसमेत छानबिन टोलीसँगै आजै राजविराज जाने भएका छन्। टोलीले घटनाको स्थलगत अध्ययन तथा छानबिन गरी वास्तविक अवस्था बाहिर ल्याउने बताइएको छ।
यसैबीच, मन्त्रालयले घटनाका सम्बन्धमा गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालसँग स्पष्टीकरणसमेत मागेको छ। छानबिनका क्रममा सम्बन्धित व्यक्ति दोषी देखिएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।
घटनाबारे अस्पतालले पनि छुट्टै छानबिन समिति गठन गर्ने भएको छ। स्वास्थ्य संस्थामा उपचारका लागि आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुनेमा जोड दिँदै मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।
मन्त्रालयले घटनाको आवश्यक अध्ययन तथा छानबिन प्रक्रिया अघि बढाइसकेको र छानबिनबाट प्राप्त तथ्यका आधारमा थप कदम चालिने जनाएको छ।

