समता खबर संवाददाता ।
राजविराज, २४ वैशाख । सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएको हो ।
प्रहरीका अनुसार २०८२ वैशाख १० गते सिरहाको लहान नगरपालिका–१० बस्ने ४७ वर्षीय मो. सदाम र ६० वर्षीय मो. ताहिर मियाँ दुबै सप्तरीको खडक नगरपालिका–५ खरचुहिया निवासी ४२ वर्षीया मिना खातुनको घरमा जग्गा खरिदका लागि आएका थिए । सोही क्रममा मिना खातुनसहित ५ जनाले उनीहरूलाई अपहरण गरी शरीर बन्धक बनाएको तथा सँगै रहेको रकम लुटी गोली हानी फरार भएको आरोप छ ।


घटनापछि फरार रहेका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाको संयुक्त टोलीले वैशाख २३ र २४ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेकाहरूलाई सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यसरी, पक्राउ पर्नेहरूमा रुपनी गाउँपालिका–५का ४३ वर्षीय हजरत मियाँ, राजगढ गाउँपालिका–६ का ४५ वर्षीय मंजित मियाँ, खडक नगरपालिका–५ खरचुहियाकि ४२ वर्षीया मिना खातुन, खडक नगरपालिका–६ बिसनपुरका ४८ वर्षीय मो. मुमताज मियाँ तथा सुरुङ्गा नगरपालिका–३ निवासी ३५ वर्षीय उपेन्द्र मोची रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय राजबिराजका प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक डम्बर बहादुर पुरीले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेका मो. मुमताज मियाँमाथि विभिन्न मितिमा दर्ता भएका १३ वटा ठगी सम्बन्धी मुद्दा रहेको र उपेन्द्र मोचीमाथि ज्यान सम्बन्धी कसुरको मुद्दा रहेको जनाएको छ ।
।

