समता खवर सम्बादाता।
राजविराज , ५ साउन । सप्तरी कारागारमा चौकिदार नियुक्ति तथा सरुवाका क्रममा लाखौँ रुपैयाँको आर्थिक चलखेल भएको आरोप सार्वजनिक भएपछि कारागार प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ। कैदीबन्दी तथा स्रोतहरूले चौकिदार नियुक्तिमा आर्थिक प्रभाव, पहुँच र अनियमितता भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
स्रोतका अनुसार २०७९ देखि २०८१ सालसम्म सप्तरी कारागारमा चौकिदार रहेका कामेश्वर यादवलाई प्रचलित व्यवस्थाविपरीत लामो समय एउटै जिम्मेवारीमा राखिएको थियो। उनीविरुद्ध २५ भन्दा बढी निवेदन विभिन्न निकायमा दर्ता भएपछि केही समय झुम्का कारागार सरुवा गरिएको भए पनि पुनः सप्तरी कारागार फर्काइएपछि शंका थप गहिरिएको बताइएको छ।
कैदीबन्दीहरूका अनुसार २०८२ साल माघ १६ गते नयाँ जेलर रुपक आएपछि ए-ब्लकका चौकिदार जाहुरी अन्सारीलाई हटाएर बी-ब्लकमा रहेका कामेश्वर यादवलाई पुनः ए-ब्लकको चौकिदार बनाइएको छ। उक्त निर्णयमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाइएको छ। यद्यपि, यस सम्बन्धमा रकम लेनदेन भएको आधिकारिक प्रमाण भने सार्वजनिक भएको छैन।
यसैबीच, सिन्धुली कारागारमा लागूऔषध (ब्राउन सुगर) मुद्दामा सजाय भोगिरहेका राम रिझ्न यादवलाई समेत चौकिदार बनाउने प्रक्रियामा करिब २४ लाख रुपैयाँसम्मको आर्थिक कारोबार भएको चर्चा कारागारभित्र फैलिएको स्रोतको दाबी छ। आरोप सत्य भए कारागार प्रशासनभित्र संगठित आर्थिक अनियमितता भएको पुष्टि हुने सरोकारवालाहरूको भनाइ छ।
स्रोतका अनुसार कथित रूपमा खर्च गरिएको रकम असुलीको विषयलाई लिएर जोगानन्दन मण्डल उर्फ बुधन मण्डल र एक चौकिदारबीच विवादसमेत भएको बताइएको छ। यस घटनाले कारागारभित्र आर्थिक स्वार्थको जालो रहेको आशंकालाई थप बल पुगेको छ।
कारागार ऐन तथा नियमावलीले चौकिदार नियुक्तिलाई संवेदनशील विषय मानेको छ। तर गम्भीर आरोपहरू सार्वजनिक हुँदा पनि सम्बन्धित निकायबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

