समता खवर सम्बादाता ।
लहान, ७ साउन ।आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई बिहीबार कार्यालय परिसरबाटै घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

अख्तियार स्रोतका अनुसार, सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा अधिकृत पालले सेवाग्राहीसँग घुस माग गरेका थिए । उनले अडिट प्रक्रिया सहज बनाउन र कर दायित्व कम गरिदिने बहानामा सुरुमा १२ लाख रुपैयाँ माग गरेको र बार्गेनिङपछि ५ लाख रुपैयाँमा सहमति भएको खुलेको छ ।

अधिकृत पालले आफूभन्दा माथिल्लो तहका कर्मचारीहरूलाई समेत रकम बुझाउनुपर्ने भन्दै सेवाग्राहीलाई दबाब दिएका थिए । सेवाग्राहीले यसबारे अख्तियारलाई सूचना दिएपछि आयोगको टोलीले विशेष अपरेसन (ट्र्याप) चलाएको थियो । बिहीबार योजनाबद्ध रूपमा रकम बुझाउन पुगेका सेवाग्राहीबाट घुस लिनासाथ अख्तियार टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार पक्राउ परेका कर अधिकृत पालमाथि थप कानुनी प्रक्रिया र विस्तृत अनुसन्धान अगाडि बढाइएको छ

