समता खवर सम्बादाता ।
राजविराज, ९ जेठ । सप्तरीको सुरुङ्गा नगरपालिका–३ मा घरेलु कामदारका रूपमा राखिएकी १४ वर्षीया बालिकामाथि यौन शोषणपछि गर्भपतन गराएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरकी ४३ वर्षीया रिता कुमारी यादव रहेकी छन् ।
उनलाई जबर्जस्ती करणीपछि गर्भपतन गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार राजविराजबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पीडित बालिका विगत आठ वर्षदेखि स्थानीय महेश्वर यादव र उनकी श्रीमती रिता यादवको घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन्। सानै उमेरमै बुबाआमा गुमाएकी ती बालिका आर्थिक अभावका कारण उक्त घरमा काम गर्न बाध्य भएकी बताइएको छ ।
अनुसन्धानका क्रममा बालिकामाथि यौन शोषण भएपछि गर्भवती बनेको र पछि योजनाबद्ध रूपमा गर्भपतन गराइएको खुलेको प्रहरीले जनाएको छ । पीडित बालिकाको किटानी जाहेरीका आधारमा प्रहरीले सुरुङ्गा ३ का वडा कार्यालयमा मुखिया पदमा कार्यरत समेत रहेकी रिता यादवलाई पक्राउ गरेको हो ।
घटनाका मुख्य आरोपित महेश्वर यादवसहित अन्य चार जना अझै फरार रहेका प्रहरीले जनाएको छ । फरार हुनेहरूमा सोही वडाका वडा सदस्य बद्री यादव, स्थानीय धर्मेन्द्र यादव लगायत रहेका छन् । उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार घटना सार्वजनिक हुनुअघि मुख्य आरोपित महेश्वर यादवले पीडित बालिकाका दुई दिदीलाई विभिन्न प्रलोभनमा पारेर बालिकासहित अन्यत्र लगेको आरोपसमेत छ । घटना भएको करिब सात दिनपछि उनीहरू प्रहरी सम्पर्कमा आएपछि मात्रै घटनाको वास्तविकता बाहिरिएको बताइएको छ ।
गत चैत ३ गते गाउँमा घटनाबारे व्यापक चर्चा चलेपछि पीडित बालिकाका आफन्त, स्थानीय अधिकारकर्मी तथा दलित अभियन्ताहरूको पहलमा महेश्वर यादवसहित पाँच जनाविरुद्ध प्रहरीमा ठाडो निवेदन दिइएको थियो । त्यसपछि गरिएको अनुसन्धानका आधारमा जबर्जस्ती करणी तथा गर्भपतन कसुरमा किटानी जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीका अनुसार पक्राउ परेकी रिता यादवमाथि जबर्जस्ती करणी तथा गर्भपतन कसुर मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
यता, घटनाले बालबालिकालाई घरेलु श्रमिकका रूपमा राख्ने प्रवृत्ति, दलित समुदायमाथिको विभेद तथा बालिकामाथि हुने यौन हिंसाको भयावह अवस्था उजागर गरेको भन्दै स्थानीय अधिकारकर्मी तथा दलित अभियन्ताहरूले निष्पक्ष अनुसन्धान गरी सबै दोषीलाई कानुनी दायरामा ल्याई हदै सम्मको कार्बाहीको माग गरेका छन् ।

