बारा जिल्ला स्वर्ण गाउँपालिका–८ मुझरीयाकी ३३ वर्षीया सुरुजकली देवी पण्डितलाई ‘बोक्सी’को आरोपमा अर्धनग्न बनाएर कपाल काटिदिनुका साथै कुटपिट गरेको आरोपित सोही ठाउँका ५३ वर्षीय लालदेव पण्डितलाई प्रहरीले ०८२ असोज १२ गते गिरफ्तार गरेको छ ।
पीडित सुरजकलीलाई ‘बोक्सी’को आरोपमा असोज ११ गते सोही ठाउँका ३५ वर्षीय बाबुसाहेब यादव, ५५ वर्षीय विक्रम पण्डित, ५३ वर्षीय लालदेव पण्डित र ४५ वर्षीय सुरेश यादवसहितको समूहले अर्धनग्न बनाएर कपाल काटिदिनुका साथै कुटपिट गरी घाइते बनाएको थियो ।
आरोपितहरु विरुद्ध पीडितले असोज १२ गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएको डिएपी विजयराज पण्डितले बताउनु भयो ।
पीडित सुरुजकली देवीको निजी जग्गामा जबरजस्ती बाटो बनाएको विषयमा विवाद भएपश्चात असोज ११ गते आरोतिहरुविरुद्ध स्थानीय प्रहरी चौकीमा उजुरी दिएर फर्कदै गर्दा ‘बोक्सी’ आरोप लगाउँदै कुटपिट गर्नुका साथै अर्धनग्न बनाएर कपाल काटिदिइ गाउँ घुमाएको पीडितले बताएकी छन् । कुटपिटबाट घाइते भएकी सुरुजकली प्राथमिक उपचार कलैया अस्पतालमा गरिएको र थप उपचारका लागि नारायणी अस्पताल विरगञ्ज लगिएको पति भूषण पण्डित बताउनु भएको छ ।
आरोपितहरु मध्ये लालदेव पण्डितलाई प्रहरीले गिरफ्तार गरिसकेको र अन्य आरोपितहरु फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएपी पण्डितले जानकारी दिनु भयो ।

