दिपेन्द्र पासवान ।
कुशहा, २२ असोज । सुरूङ्गा नगरपालिका–७ हरिपुरका बासिन्दाले नयाँ ट्रान्सफर्मर जडानको माग गर्दै नेपाल विद्युत् प्राधिकरण समक्ष औपचारिक निवेदन बुझाएका छन् ।
स्थानीयहरूले दिएको निवेदनमा गाउँमा रहेको ५० केभी क्षमताको ट्रान्सफर्मरले लोड थाम्न नसकेकोे कारण करिब ३०० घरपरिवार अन्धकारमा बाँच्न बाध्य भएको उल्लेख गरिएको छ । कृषकहरूले सिँचाइ गर्न नसकी बाली सुकेका छन् भने विद्यार्थी र व्यवसायीहरू समेत प्रभावित भएका निबेदनमा उल्लेख छ ।
निवेदनमा भनिएको छ,“हामी गाउँ बस्तीलाई ५० केभी क्षमताको ट्रान्सफर्मरले पर्याप्त रूपमा विद्युत् आपूर्ति गर्न नसक्ने भएपछि नयाँ १०० केभी क्षमताको ट्रान्सफर्मरको व्यवस्था गरी समस्या समाधान गर्न हार्दिक अनुरोध गर्दछौं।”
सुरूङ्गा न.पा.–७ का वडा अध्यक्ष शिबनारायण चौधरीको सिफारिस सहित जिल्ला विद्युत् प्राधिकरण कार्यालयमा उक्त मागपत्र बुझाइएको हो ।
स्थानीय धिरज कुमार मण्डल, पंकज कुमार साह, सरोज कुमार साह, सन्दीप कुमार चौधरी लगायत १ सय ५० जना ग्रामीणवासीहरूको हस्ताक्षर रहेको उक्त निवेदनमा तत्काल समस्या समाधान गर्न आग्रह गरिएको छ।
गाउँवासीका अनुसार, ट्रान्सफर्मर बिग्रिएको लामो समय बितिसक्दा पनि प्राधिकरणले नयाँ उपकरण जडान नगर्दा जनजीवन प्रभावित भएको स्थानियबासीहरुको गुनासो छ । उनीहरूले आगामी तिहारअघि नयाँ ट्रान्सफर्मर जडान गर्नु पर्ने माग सहित बिद्युत प्राबिधिकरण बोदेबर्साईन बितरण केन्द्रका निमित कार्याालय प्रमुख प्रकाश नारायण चौधरीलाई निबेदन बुझाएका छन् ।
निमित कार्यालय प्रमुख चौधरीले सो ठाउँको समस्यालाई योजनामा राखेको तर प्राबिधिकहरुको कार्यब्यस्तताका कारण उक्त काम गर्न नसकेको बताउँदै तिहार अघि नै त्यहाँको समस्या समाधान गर्ने बताएका छन् ।
उनका अनुसार आवश्यक सामग्रीको जोहो गरी छिट्टै प्राविधिक टोली पठाई छिट्टै समस्या समाधान गर्ने बताएका छन् ।
स्थानीय कृषक बच्चालाल साह भन्छन्, “हामीले पटक–पटक माग गरेका थियौं, तर यसपटक गाउँका सयौँ बासिन्दा एकजुट भएर गएकाले प्राधिकरणले पनि गम्भीर रूपमा लिएको छ।”
विद्यार्थी काजल कुमारी साह थप्छिन्, “बत्ती नहुँदा पढ्न गाह्रो भएको थियो । अब तिहार अघि बत्ती बाल्न पाउने आश्वासनले आश पलाएको छ ।”
गाउँबासीहरूले प्राधिकरणले दिएको आश्वासनअनुसार तिहारअघि नै नयाँ ट्रान्सफर्मर जडान भई हरिपुर फेरि उज्यालो हुने विश्वास व्यक्त गरेका छन्।

