कुशाहा, २५ असोज । सप्तरीको सुरुङ्गा नगरपालिकामा युवाहरूको सक्रिय पहलमा पालिका स्तरीय जेनजी समिति गठन गरिएको छ । शनिबार सुरुङ्गा–४ स्थित सेतीदेवी मन्दिरको प्राङ्गणमा भएको युवाहरुको भेलाले नगरपालिकामा मौलाउँदै गएको भ्रष्टाचार, अनियमितता र सामाजिक बेतिथी विरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्य सहित समिति गठन गरेको हो ।
स्थानीय राम भरोस चौधरीको संयोजकत्वमा बसेको भेलाले वडा नं. ३ का जितेन्द्र कुमार मण्डलको संयोजकत्वमा जेनजी समितिको गठन भएको भेलाका अगुवा शिबशंकर चौधरीले जानकारी दिएको हो । समितिमा वडा नं. ४ का प्रवीण जैसवाल, वडा नं. ८ का शिवशंकर चौधरी, वडा नं. १० का कृष्ण साह र वडा नं. ११ का मदन चौधरी सदस्यका रूपमा चयन भएका छन् । भेलामा सुरुङ्गा नगरपालिकाका विभिन्न वडाका युवाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
समितिले पालिकाभित्र सुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ । संयोजक मण्डलले भ्रष्टाचार र अन्यायविरुद्ध अब युवाहरू मौन नबस्ने बताउँदै, जनताको करबाट सञ्चालित योजनामा पारदर्शिता सुनिश्चित गर्न र स्थानीय निकायमा हुने आर्थिक दुरुपयोग रोक्न युवाहरू सक्रिय हुने बताएका छन् ।
उनका अनुसार जेनजी अभियानको पहिलो प्राथमिकता पालिका भित्रका अनियमितता र भ्रष्टाचार विरुद्ध निगरानी र जनचेतना अभिवृद्धि गर्नु हो । साथै, बेरोजगार युवालाई स्व–रोजगार र सीपमूलक तालिमका अवसरहरू प्रदान गर्ने, विद्यालय र समुदायमा नशा तथा हिंसाविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने समितिले जानकारी दिएकोे छ ।
त्यस्तै सडकमा बढ्दै गरेको सबारी दुर्घटना न्युनिकरणका लागि स्थानिय ट्राफिक प्रहरी संग सहकार्य गरी आबश्यक सहयोग समेत गर्ने समितीका सदस्य कृष्ण साहले जनाएको छ ।
भेलाका संयोजक राम भरोस चौधरीले यो अभियान कुनै राजनीतिक दलसँग सम्बन्धित नभई समाज परिवर्तनका लागि युवाहरूको साझा पहल भएको बताए । उनका अनुसार पालिकाभित्र पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माण गर्न युवाहरू एकजुट हुन आवश्यक भएको बताएका छन् ।
भेलामा सहभागी युवाहरूले जेनजी अभियानलाई वडास्तरमा विस्तार गर्दै आगामी दिनमा जनचेतनामूलक सभा, सरसफाइ अभियान र स्थानीय निगरानी कार्यक्रम सुरु गर्ने समेत बताएका छन् । समितिले आगामी साता भित्र वडास्तरमा उपसमिति गठन गर्ने तयारी पनि गरेको नब गठित कमिटीका संयोजक जितेन्द्र मण्डलले जानकारी दिएका छन् ।

